यता टिआरसी विधेयक, उता विश्वासको मत

यता टिआरसी विधेयक, उता विश्वासको मत
सुन्नुहोस्

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि सांसदहरुले विधेयकमाथि छलफल गर्नेछन् ।

उता, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । प्रदेश सभाको हिजोको बैठकमा सभामुख भीम भण्डारीले मुख्यमन्त्रीले आज विश्वासको मत लिने जानकारी गराएका थिए ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने छन् । शाह नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय सभामा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ । शाहको पक्षमा एमालेका ११, काँग्रेसका १८ र नाउपाको सात गरेर ३५ जना देखिएका छन् ।

टिप्पणीहरू