टिआरसी विधेयक कार्यान्वयनमा सबै एकै ठाउँमा उभिने देउवाको विश्वास

टिआरसी विधेयक कार्यान्वयनमा सबै एकै ठाउँमा उभिने देउवाको विश्वास
सुन्नुहोस्

नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकलाई आज सम्बोधन गर्दै उहाँले लामो समयपछि टिआरसी विधेयकको विषय टुंगो लागेकोमा खुशी व्यक्त गर्नुभएको छ । यसको कार्यान्वयनमा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने उहाँको भनाई छ ।

‘संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई कार्यान्वयन गर्न सक्षम आयोगहरु आवश्यक छ, त्यसमा सरकार काम गरोस् भन्ने चाहन्छु’, देउवाले भन्नुभयो, ‘मुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ, उभिएका छौं ।’ 

नेपालको शान्ति प्रक्रियालाई अन्य देशहरुले पनि चासोका साथ नियालिरहेको उहाँले बताउनुभयो । अगाडि भन्नुभयो, ‘संंक्रमणकालीन न्यायको विषयलाई अन्तर्राष्ट्रिय मित्रहरुले हेरिरहेका छन् । जसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले लाखौँ जनताको त्याग, तपस्या र बलिदानबाट अहिलेको संविधान आएको उल्लेख गर्नुभयो । ‘यो संविधानको व्यवस्था लाखांै जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो । यसको सही कार्यान्वयन गर्ने हाम्रो दायित्व हो’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू