गृहमन्त्री गुहार्दै शिक्षामन्त्री, नेविसंघको कटाक्ष
शिक्षामन्त्री विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकसँग त्रिभुवन विश्वविद्यालय र उसका पदाधिकारीको सुरक्षा माग गरेपछि सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले अर्कै आरोप लगाएको छ । संघका नेता योगेन्द्र रावलले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले हालेको मुद्दाको पुनरावेदन मिति नजिकिँदै गर्दा मन्त्रीले विषयलाई अन्यत्र मोड्न सुरक्षा मागेको बताए ।
चलाउने आफूमाथि भएको आक्रमणमा नेविसंघका नेताहरुको संलग्नता रहेको आरोप लगाउँदै कानुनी उपचारको निम्ति अदालत पुगेका थिए । अर्को हप्ता सोही मुद्दामा पुनरावेदन बहस हुन लागेको छ ।
यता शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ,‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोजिएको र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
नेविसंघ र काँग्रेस निकट प्राध्यापकहरुले शिक्षामन्त्री र विश्वविद्यालय पदाधिकारीहरुले नयाँ प्रपञ्च रचेको बताएका छन् । विशेषगरी आफूनिकट प्राध्यापकहरुलाई सेटिङमा सरुवा गरेर विभिन्न विभागमा लैजाने रणनीतिलाई मलजल गर्न मन्त्रीले सामाजिक सञ्जालको सहारा लिएको उनीहरुको दाबी छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले विभागीय प्रमुखमा टीका गौतमको नाम सिफारिस गरेकी छन् । त्रिवि कार्यकारी परिषदले नियुक्तिको निर्णय नगरे पनि नेविसंघका नेताहरूले शाक्यको सिफारिस लागु गर्न दबाब दिएपछि घटनाक्रमले नयाँ मोड लिएको अर्काथरीको भनाई छ ।
यसअघि उक्त विभागको प्रमुखमा युवराज लुइँटेल थिए । निजले शुक्रबारदेखि अवकाश पाएपछि उक्त स्थानमा पासाङ शेर्पाको नियुक्ति हुनुपर्नेमा विश्वविद्यालय पदाधिकारीहरू देखिन्छन् । पहिलो नम्बरमा रहेका शेर्पा एमाले निकट हुन् । गौतम उनीपछि दोस्रो नम्बरमा छन् ।
टिप्पणीहरू