नेपाल तीन ढुंगाबीचको तरुल भइसक्यो

नेपाल तीन ढुंगाबीचको तरुल भइसक्यो

जीवनको उत्तरार्ध । ८५ वर्षको उमेरमा पनि नथाकेको जोशिलो आवाज । ०१४ सालदेखि नै कम्युनिष्ट पार्टीको सदस्य बनेर राजनीतिमा होमिएका चित्रबहादुर केसीको संघीयताविरोधी र सादगी जीवनशैली अनुकरणीय मानिन्छ । ०३१ सालमा केन्द्रीय सदस्य, ०४१ सालमा मसालको महामन्त्री र ०४४ मा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको अध्यक्ष भएका केसी ०५२ मा गठित राजमोको केन्द्रीय अध्यक्ष छन् । 

झलनाथ खनालदेखि देव गुरुङ, देवेन्द्र पौडेल, डा.बाबुराम भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीसमेत कुनै समय उनकै कार्यकर्ता थिए । प्राध्यापन पेशा छाडेर राजनीतिमा लागेका केसी पटक–पटक सांसद, संंविधानसभा सदस्य हुँदै एक कार्यकाल उपप्रधानमन्त्रीसमेत बने तर सम्पत्ति जोडेनन् । घट्टेकुलोको सामान्य डेरामा बस्दै आएका केसी ६ महिनादेखि काठमाडौंमा छैनन् । परिवारको स्वास्थ्य समस्याका कारण रूपन्देहीस्थित घरमा बस्दै आएका उनी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका पछाडि एमसिसीको हात  देख्छन् ।

– हरि गजुरेल

० विकसित राजनीतिक घटनाक्रमलाई कसरी नियालिरहनुभएको छ ? 

– पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भन्थे । अब दुई ढुंगाबीचको तरुल रहेन नेपाल । चीन र भारतसँगै अमेरिका पनि मिसियो र तीन ढुंगाको तरुल बन्न पुग्यो । गत भदौ २३ र २४ को प्रदर्शनमा खुलेआम तिब्बती शरणार्थीहरू मैदानमा उतारिए । हामीले ००७ साल, ०४६ र ०६३ सालमा आन्दोलन गर्दा कुनै भौतिक संरचना तोडफोड गरेनौं, न त राज्यको सम्पत्तिमा आगो झोस्यौं । अहिले जेनजीका नाममा खुलेआम सरकारी सम्पत्तिमा आगो लगाइएको छ । हामीलाई पुर्खाले सग्लो देश दिएकै कारण आज उफ्रन पाइएको हो । नेपालका नेताहरूलाई पहिला एमसिसीको भारी बोकाइयो । आफ्नो उद्देश्य पूरा गर्नका लागि, युद्धग्रस्त मुलुक बनाउन ऊ आज्ञाकारी शक्तिको खोजीमा थियो । अहिले त्यही षड्यन्त्र पूरा हुँदै गएको स्थिति छ । 

० रवि लामिछाने, बालेन साह र कुलमानहरुको मिलनलाई कसरी बुझ्ने ? 

– सबै सत्ताकै लागि मिसिएका हुन् । प्रचण्ड, देउवा, ओलीलाई त थाहा छ नि, एमसिसीको मुख्य मतियार कुलमान घिसिङ हुन् भनेर । कुलमानले गरेको भ्रष्टाचारको रकम सबैभन्दा धेरै माओवादीले चलाएको छ । पछिल्ला घटनाक्रममार्फत मुलुक युक्रेनको बाटोमा हिँड्यो । नेपालका बुद्धिजीवी, मानव अधिकारवादी, न्यायक्षेत्रमा काम गर्नेहरू अमेरिकीकरण भएको हेर्न चाहन्छन् । त्यहीअनुसार काम गरिरहेका छन् । नेपाल युक्रेन भएर उनीहरूको के बिग्रन्छ ? कमाएको धन उतै थुपारेर राखेका छन्, अमेरिकै गएर बस्छन्, नेपाली जनताको हालत पो प्यालेस्टिाइनीको झैं हुन्छ । उनीहरू जति दिनसम्म यहाँ बसी अमेरिकाको दलाली गरी खान सक्छन्, त्यति दिन यतै बस्छन्, त्यसपछि उतै लाग्छन् ।

० हालै अमेरिका, चीन र भारतका राजदूत फिर्ता हुनुले के संकेत गर्छ ? 

– नेपालमा अमेरिकाले आफ्ना एजेण्डा लागू गर्न चाहन्छ । अहिले फिर्ता बोलाइएका राजदूत बाइडेनका पालामा पठाइएका व्यक्ति हुन् । बाइडेन अलिकति सुधारवादी हो । ट्रम्पको सबै कुरा कार्यान्वयन गर्न नमान्ने भएरै हुनसक्छ, त्यसबेला नियुक्त राजदूतहरू फिर्ता बोलाइएको । चीनले किन फिर्ता गर्‍यो, त्यो मसिनोसँग बुझ्न पाएको छैन । 

० मुलुकको अस्तित्व र अस्मिता बचाउनका लागि पुरानो राजनीतिक दलको भूमिका के हुनुपर्ला अब ? 

– पुराना राजनीतिक दलहरूकै कारण साम्राज्यवादीहरूलाई चलखेल गर्न सजिलो भएको हो ! यदि पुराना दलले भ्रष्टाचार नगरेर सुशासन दिन सकेको भए, मुलुकमा औद्योगिकरण गर्न सकेका भए यस्तो स्थिति हुन्नथ्यो । ०३८ सालमै पञ्चायतकालमा उदारीकरणका लागि बेलायत, अमेरिकाले नेपाललाई सहयोग गर्‍यो । सोही समयदेखि उदारवाद लागू भयो । कलकारखाना, उद्योगधन्दा सबै खरानी पारियो । उद्योगधन्दा खरानी पारेपछि जनशक्ति बिदेसिनुपर्‍यो । देश रित्याइयो । सत्ता र शक्तिमा बस्नेहरूले चुनाव जित्न कुनै लाज, घिन मानेनन् । त्यही कारण जनताले विकल्प खोज्न थाले । बालेन साह र रवि लामिछानेजस्ता मान्छेलाई विकल्प भनेर समर्थन गर्न थाले जनताले ।

जेलेन्स्कीलाई सत्तामा ल्याएर आज युक्रेनलाई ध्वस्त पारेजस्तै युथ काउन्सिलको नाममा तालिम दिएर होस् वा डिभी खोलेर भक्त बनाइँदैछ, युवा र नागरिकलाई । लोकप्रियतावाद सबैभन्दा खतरनाक हुन्छ । काठमाडौं महानगर पहिल्यै सिआइएको कब्जामा थियो । विद्युत् प्राधिकरणमा कुलमानलाई लगेर कब्जा जमाइयो । अमेरिकी दूतावासले नयाँ पिँढीलाई पैसा दिएर अनेकन संगठन खोल्न लगायो । नेपालको संस्कृतिविरुद्ध पढाउने, यहाँका राजनीतिक दलहरू सबै चोर हुन् । यहाँको परिपाटी ठीक छैन भनेर जनमत तयार गराइएको छ । देख्नुभएन, खुलेआम दलाई लामाले सुशीला कार्कीलाई बधाई पठाएको ? सात सालपछि कति वटा प्रधानमन्त्री भए, कसैलाई बधाई पठाउने आँट गरेको थियो ? बालेन अर्थात रवि जो आए पनि दलाई लामालाई पुनःस्थापना गर्न हिच्किचाउने कुरा त भएन । त्यही काम कांग्रेस, एमाले, माओवादीबाट भएन र विकल्प खोजिएको हो । यद्यपि लाखौं लाख जनमत हाइ बालेन, रवि, कुलमान, सन्दुक रुइत भन्दै जयजकार गरिरहेका छन् । जनताको चेतनास्तरबाटै हो नि अरुले फाइदा उठाउने ! 

० भदौ २३ र २४ को घटनाक्रम र एमसिसीको कनेक्सन के छ ? 

– इण्डो प्यासिफिक रणनीतिअन्तर्गतै एमसिसी बोकाइयो । शुरुमा एमाले र माओवादीले मानेनन् । त्यतिखेर नेकपा थियो, त्यसलाई अदालत प्रयोग गरेर फुटाइयो । कांग्रेसको नेतृत्वमा सरकार बनाइएपछि एमसिसी पारित गर्न सजिलो भयो । एमसिसीलाई नेपालको संविधान ०७२ भन्दा माथि राखियो । कांग्रेस, एमाले, माओवादीबाट काम लिइसकेपछि उनीहरूबाट एसपिपी पारित हुन नसक्ने देखेर बाँकी काम पूरा गर्नका लागि घण्टी जन्माइयो । उसकै धाप पाएर त पार्टी निर्माण भएको चार महिनामै २१ सिट आएको छ । काठमाडौंको मेयर बनाउने कुरामा सिआइए पूरा सफल भयो । अहिले बालेन र रविहरूको मिलन पनि त्यही हो । घण्टीलाई उसले पूरै माया मारिसकेको छैन । कुलमानजस्तो एमसिसी ल्याउन भित्री भूमिका खेल्ने मान्छेलाई अगाडि सारिएको छ ।

अमेरिकी प्रभुत्व स्वीकार्नका लागि घण्टीवालाहरूले सबै प्रकारको खेल खेले र भदौ २३ र २४ को अवस्थामा पुर्‍याए । एमसिसीका मुख्य मतियार, अमेरिकामा ठगी गरेर फर्किएका सहकारी ठगहरूलाई ल्याउनकै लागि संसद् विघटन गरिएको हो । नेपाल अँध्यारो कुनातिर लाग्यो अब । केपी ओली र प्रचण्डले शुरुमा एमसिसी स्वीकार गर्न हिच्किचाएका थिए । त्यही कारण नेकपालाई भत्काएर सत्तामा शेरबहादुर देउवालाई ल्याइएको हो ! सत्तामा प्रचण्ड, ओली सामेल भए । स्वर्णीम वाग्ले एमसिसीमा मैले बार्गेनिङ गरेको हुँ भन्छन् । अब ओली प्रचण्ड र देउवामाथि अमेरिकाले पूरै भर गरेन । 

त्यही कारण बालेन र रविलाई राज्यसत्तामा ल्याउनका लागि लागिपरेका हुन् । चिनियाँ दूतावासलाई काठमाडौंबाट हटाउने प्रयास हुन्छ, अब । यदि त्यसो भएमा चीन पनि चुप लागेर बस्दैन । भारतलाई थ्रेट दिइरहेको छ । क्यानाडालाई ५१ औं राज्य बनाउँछु भन्यो ट्रम्पले, भेनेजुयलालाई दख्खल गरिरहेको छ । यी सबै स्थिति हेर्दा नेपालकै अस्तित्वमा प्रश्नचिह्न छ । भारतले पहिला सिक्किम निल्यो । भुटानलाई आफ्नै अण्डरमा राखेको छ । नेपालको अस्तित्व मेट्नका लागि प्रयास गरिरहेकै हो । संघीयता नेपालको प्रगतिका लागि ल्याइएको थिएन । संघीयताको बहानामा एक मधेश, एक प्रदेश ल्याएर पहिला तराईलाई अलग गर्ने योजना थियो । सिआइएले लडेका सबै गतिविधिबारे रअलाई त्यति जानकारी भएजस्तो लाग्दैन । नेपाल अब प्यालेस्टाइनतिर गयो । एमसिसी पास गर्न ११ पटक उच्चस्तरीय शक्ति आएको थियो । काठमाडौंमा रहेका मानव अधिकारवादी, वकिलहरू उनीहरूबाटै पालिएका हुन् । 

० २१ फागुनमा निर्वाचन होला ? 

– निर्वाचन आयोग त थपनामात्र हो । सिआइएले हो चुनाव गराउने वा नगराउने । बालेन र रविलाई सत्तामा लैजान सक्ने स्थिति बन्यो भने गराउँछ । मौसमलगायतका कारण फागुन २१ गते १९ जिल्लामा चुनाव हुन सक्दैन । हिमाली जिल्लामा चुनाव गराउने समय होइन यो ।

० चुनावी परिदृश्य के देख्नुहुन्छ ? 

– अमेरिकामा ठूलो ठगी गरेर फर्किएको व्यक्ति हो, रवि लामिछाने । यहाँ पाँच–पाँचवटा सहकारी ठगेपछि केपी ओली, प्रचण्ड, महान्यायाधिवक्ता, आइजिपीले उनी निर्दाेष छन् भनेका होइनन् हिजो ? यस्ता अपराधीहरूले देश बचाउँछन् ? ‘आमालाई पोइल लगाएर जारी बुझी खाने बानीका छन् शासकहरू । 

० कम्युनिष्टहरूले अन्तरविरोधको कारण आफैभित्र खोज्नुपर्ने हो तर कमजोरी आफूभित्र नखोज्ने, सबै दोष विदेशीलाई लगाइदिने विरोधाभाषपूर्ण तरिका भएन र ? 

– नाम राख्दैमा कम्युनिष्ट हुन्छन् र ? कम्युनिष्टको सिद्धान्त, आदर्श, नीति, नैतिकताअनुसार चलेका छन् र यिनीहरू ? ती समाजवादी हुन् ? तिनै एमाले, माओवादीलाई जनताले कम्युनिष्ट भनिरहेका छन्, मिडियाले कम्युनिष्ट लेखिरहेका छन् । यी सबै नक्कली कम्युनिष्ट हुन् । होला, उनीहरूले साम्राज्यवादको विरुद्धमा अलि अलि आवाज उठाउँछन् । एमसिसी त कांग्रेसले पास गरेको हो । त्यसैमा एमाले–माओवादी लतालिएर गएका हुन् । प्रचण्डलाई हेगमा लैजाला भन्ने डर भयो ।

० एमाले पार्टीको महाधिवेशनलाई कसरी नियाल्नुभयो ? 

– पहिला ७० वर्षे र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाइने नियम बनाए तर उल्ट्याए । कम्युनिष्ट पार्टीले निजी स्वार्थ, सम्पत्ति, पदका लागि षडयन्त्र र त्यति जालझेल गर्छ र ? यदि त्यस्तो गर्ने भए हो चि मिन्हले भियतनामबाट अमेरिका र माओले चीनबाट जापानीलाई लखेट्न सफल हुन्थें र ? 

० महाधिवेशनमा ओलीले विरोधीहरूलाई जसरी दपेटे, त्यसले एमाले पार्टीलाई कहाँ पु¥याउँछ ? 

–लेनिनवादी संगठनात्मक सिद्धान्त परित्याग गरेपछि सत्ताभित्र लुछाचुँडी भएको छ । कम्युनिष्टका आधारभूत सिद्धान्तबाट विचलित भएपछि सत्तामा जान त्यो खेल खेल्नैपर्छ । पार्टीभित्र त यस्तो छ भने संसदमा जानका लागि विभिन्न तस्कर, ठेकेदार, अपराधीहरूलाई जोगाएर उनीहरूबाट पैसा लिनुपर्छ । पहिला दुई चोटी संसद भत्काउँदा विद्यादेवीले साथ दिनुभएको थियो ओलीलाई । अहिले प्रवल विरोधी भएर आउनुभएको छ । संसदीय व्यवस्थालाई सबैथोक मान्ने, यसैलाई भर्‍याङ बनाएर सत्ताको रस्वास्वदन गर्नेहरूले यस्तो खेल खेलिरहन्छन् ।

० केपी ओलीले विदेशी शक्तिले मलाई सत्ताबाट हटाए भन्छन् तर यही शक्तिले भनेर किन किट्न नसकेका ? 

– ‘डर नहीँ लग्ता हें, थरथरी काम्ता हें’ भनेको त्यही हो । सिआइएले सत्ताबाट घोक्रयायो भन्ने प्रचण्ड, ओली दुबैलाई थाहा छ । सिआइएको चाकरी र दलाली गर्दागर्दै रक्ताम्य हुने गरी पिट्यो भनेर आरजु र देउवालाई पनि थाहा छ तर भन्न पो भएको छैन । राष्ट्र र जनताका लागि काम गर्ने मान्छे न निर्भिक हुन्छ । ऊ आवश्यक परे मर्न तयार हुन्छ । नयाँलाई दूतावासले पढाइरहेको, यहाँका नेताहरूप्रति घृणा फैलाएको, शिक्षा, स्वास्थ्य ध्वस्त पारेको उनीहरूले हो भन्ने थाहा छ तर भन्न मिल्दैन । उनीहरूको दलाली गरिएन भने बाहिर परिन्छ । सत्तामा जान पाइन्न तर राष्ट्रिय जनमोर्चाले खुलेआम भन्दै आएको छ । 

० प्रचण्डले पार्टी एकीकरण गर्दा तपाइँहरूलाई सामेल गराउन खोजेनन् ? 

– राष्ट्रका लागि जम्मा भएका हुन् र ती ? त्यो उद्देश्यले जनवादी क्रान्ति हुन्छ ? 

० एमसिसीविरुद्ध बोल्दा के, कति थ्रेट आए ? 

– संघीयताको विरोध गर्दा तँलाई मार्छु भने । संघीयतामा असहमत हुँदा पार्टी चलाउन १० करोड दिन्छु भनेको कुरा २५ वटा दलका नेताले सुनेका छन् । लेखा समितिको सभापति भए पनि मर्न तयार भएँ तर राष्ट्रघात गरिन । ०५१ सालदेखि पार्टी संसदमा छ, हाम्रा कुनै सांसदले घुस खाएको, भ्रष्टाचार गरेको भन्न सक्नुहुन्छ ? तर, नेपाली जनतालाई घुस खाने, भ्रष्टाचार गर्ने र देश बेच्ने मान्छे चाहिन्छ । तिनैलाई मतदान गर्छन् । जनताको चेतनामा परिवर्तन नआइकन देश विकास हुँदैन । जनतामा भ्रम छ, पाँच पाँच वटा अदालतमा मुद्दा चलिरहेको ठगलाई निर्दाेष हो भन्दै हिँडेका छन् । 

० अब गगन थापा नेतृत्वमा पुग्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

– सिआइएले शेखरलाई ल्याउँदा फाइदा हुन्छ कि गगनलाई ? हिसाब गरेर ल्याउँछ । त्यसको जोडघटाउ गरिरहेको होला । अब शेरबहादुरको समय सकियो । हलो तान्न नसक्ने बूढो गोरु भयो । जति उपयोग गर्नुपर्ने थियो गर्‍यो । कांग्रेसलाई पहिला भारतको माया थियो । शेरबहादुरको विवाह आरजुसँग गरिदिएपछि कांग्रेसभित्र अर्काे कांग्रेस जन्मिएको हो । 

० आगामी निर्वाचनमा नउठ्ने ? 

– ०७४ देखि नै उठ्दिन भनेको हुँ । पार्टीले समानुपातिकमा सिफारिस गरेर पठाएको छ । जनमोर्चाले विगतमा जस्तो साम्राज्यवादको गोठालोहरूसँग तालमेल गर्दैन । हिजो ओलीले दुई दुई पटक संसद नभत्काएको भए हामीले देउवा, प्रचण्डसँग तालमेल गर्ने थिएनौं । दरबारिया, विदेशी शक्ति लागेको समयमा गठबन्धन आवश्यक थियो । अहिले बालेन सत्तामा आउने स्थिति तयार पारेको त यिनै ठूला दलले हुन् । 
 

टिप्पणीहरू