कुलमानलाई चलाउने शक्ति अमेरिका हो
मुलुकको कर्पोरेट कानुन क्षेत्रमा स्थापित नाम हो– मधु चौलागाईं । काभ्रेमा जन्मेका उनले एसएलसीपछि केही समय खाँडादेवी मावि, काभ्रेमा पढाए । कानुनी कखरा हाल वरिष्ठ अधिवक्ता रहेका नेत्रध्वज कार्कीको पब्लिक ल फर्ममा बसेर सिके, वारेसको रूपमा काम गर्दै कानुन पढे । घरजग्गा कारोबारी सुधीर बस्नेत जेल परेपछि ०७४ पछाडि उनका सबै मुद्दा र अहिले समस्या आएका अधिकांश ठूला सहकारीको मुद्दा उनीसँगै छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका उनी आगामी निर्वाचन काभ्रेबाट लड्ने तयारी गर्दै छन् ।
– हरि गजुरेल
० रास्वपामा पहिरो गइरहेको छ । पूर्वसांसद सुमना श्रेष्ठ, सन्तोष परियारलगायत एकपछि अर्काे नेताले किन छाडे रास्वपा ?
– उहाँहरू रास्वपामा एउटा अभिलाषा बोकेर आउनुभएको थियो । विचारसहित उज्जेलिएर आएको भए यसरी स्खलित र विचलित भएर हिँड्नुपर्ने थिएन । विश्वास गरेर पार्टीले समानुपातिक सांसद बनायो । पार्टीले समानुपातिकलाई नदोह्रोर्याउने नीति लियो । निर्वाचनमा जानुपर्ने भयो तर निर्वाचनमा भाग लिन्छु, मेरो यो क्षेत्र हो भन्ने अवस्था उहाँहरूको भएन । एक चरण लालसा पूरा भयो, अर्काे चरण रहर पूरा हुन नसक्ने देखेपछि पार्टी छाडेर जानुभएको हो । सदैव पार्टीलाई वैचारिक रूपमा यस्तो बनाउनुपर्छ भन्नुहुन्थ्यो तर डकुमेन्ट बनाएर ल्याउनुहोस् भन्दा दिन सक्नुभएन ।
० सन्तोष र सुमनाले त्यही नीतिको कारण छाडे भनिए पनि संसदीय भूमिकामा नरहेका काठमाडौँका सभापति प्रदीप बिष्ट, केन्द्रीय सदस्य डा. प्रभात अधिकारी र हरि भट्टहरूको राजीनामाको कारणचाहिँ के हो नि !
– डा. प्रभातको हकमा एकातिर चिकित्सक, अर्काेतिर वाणिज्यशास्त्रमा झुकाव भएका कारण समय दिन सकिन भन्नुभएको हो । प्रदीप विष्टले निर्वाचनअगाडि पार्टीले लिनुपर्ने स्पष्ट दिशा लिन सकेन । पार्टीको अल्पकालीन, दीर्घकालीन दिशानिर्देशक के हो ? त्यसलाई पूरा गर्ने रणनीति के हो ? दस्तावेजहरू ल्याइँदा छलफल नगर्ने कुरामा असहमति रहेका कारण देखाउनुभएको छ । त्यो उहाँको वैचारिक असन्तुष्टि हो ।
० छाडेर जानेलाई आरोप लगाएर मात्र रास्वपाले उन्मुक्ति पाउँछ कि तपाईंहरूभित्रै पनि करेक्सन गर्नुपर्ने केही छैनन् ?
– रास्वपाले करेक्सन गर्नुपर्ने कुरा धेरै छन् । एकातिर वैचारिक र अर्काेतिर कार्यकर्ताको भावनालाई कदर गर्ने काममा सुधार गर्न जरुरी छ । पार्टीलाई नागरिकको पार्टी बनाउनका लागि कम्तीमा भुँइमान्छेको आवाज सुन्ने र भुँइमान्छेलाई कदर गर्नुपर्दछ । दुःख गरेका व्यक्तिहरूलाई हेयको दृष्टिले हेर्ने, लटरपटर इन्ट्री गराउन खोज्ने, त्यहीं भित्र अनेकन चलखेल हुने हुँदा क्षयीकरण त हुन्छ ।
० पुराना दलले समानुपातिक सांसद बनाउँदा क्रय विक्रय गरेको आरोप लाग्थ्यो । रास्वपा पनि उस्तै देखियो । के फरक रह्यो र नयाँ–पुराना बीच ?
– डा.ढाकाकुमार श्रेष्ठ समानुपातिकमा जान कसैसँग पैसा माग्नुभएको कुरा आयो र उहाँलाई पार्टीले तत्काल जिम्मेवारीबाट हटायो । सुमनाको पार्टीसँग कुनै वैचारिक विवाद नै थिएन । एउटालाई देवत्वकरण गर्ने काम भएको कारण पार्टी परित्याग गरें भन्नुभयो । त्यो देवत्वकरणको विषयमा पार्टीभित्र कति लड्नुभयो त ? उहाँमा जहिल्यै पनि पदलोलुपता देखियो । पार्टीले सांसदबाट राजीनामा दिएर बाहिर पद नै नरहेको र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारमा केही भाग पाइन्छ कि भनेर हामफालेर जानुभयो । आज देखिएको छ नि उहाँ के हो भन्ने ।
० सुमना श्रेष्ठहरूको राजनीतिक भविष्य अब कस्तो देख्नुहुन्छ ?
– अन्तरिम सरकारमा शिक्षामन्त्री पाउँछु भनेर सुशीला कार्कीलाई अँगालो हाल्न पुग्नुभएको थियो । त्यो अँगालो मुतको न्यानोजस्तो मात्र भयो । कुलमानजीकोमा जानुभयो, त्यहाँ पनि अटाउन सक्नुभएन । बालेनले पार्टी खोल्नुहुन्छ कि भन्ने लालसामा बस्नुभएको छ । बालेन समूहमा काम गर्नेखालको मान्छे होइनन् । पार्टी चलाउने भनेको पब्लिकसँग फेस गर्न सक्ने र जवाफदेहिता बोकेको मान्छेले मात्र हो । बालेनले पार्टी खोल्ने हिम्मत गर्नुभएन । दुखद कुरा सुमनाजत्तिको मान्छे राजनीतिबाट कट्नु हुँदैनथ्यो तर आफ्नै कारणले छुट्नुभयो । राजनीतिमा उहाँको धेरै दिन जालाजस्तो लाग्दैन ।
० पार्टीमा उचाई बनाएका एकपछि अर्काे नेतालाई जोगाउन नसक्ने रास्वपाले हालै विवेकशीलसँग एकता गरेको छ । यो एकता ‘मझेरी खनेर आँगन पुर्ने काम’ जस्तो भयो कि !
– टिप्पणी त जे पनि गर्न पाइयो तर सत्य के हो भने उहाँहरूको बर्हिगमन स्वार्थका कारण भएको हो ।
० रास्वपा र कुलमानबीचको पार्टी एकीकरण अब टरेको हो ?
– कुलमानसँग पार्टी एकता हुने कुरामा अहिले पनि छलफल चलिरहेको हुन्छ । पार्टी एकता वा कार्यगत एकता ? कुलमानजीले जहिल्यै पनि सभापति वा कार्यकारी हैसियतमा बस्न पाउनुपर्दछ भन्ने रह्यो । त्यो उहाँ वरपर बस्नेहरूको दावी हो । अहिले नै नाम नखोलौं । कुलमानजी त पार्टी खोल्ने पक्षमै हुनुहुन्थेन । पार्टी खोल्न उक्साउने साथी मकहाँ पनि आउनुभएको थियो । रास्वपा अहिले भर्खर आयातितलाई ल्याएर पार्टी चलाउनुपर्ने स्थितिमा छैन । महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने अवस्थामा सभापतिबाहेकको निम्ति ढोका खुल्ला छ । रास्वपा कब्जा गर्ने उहाँहरूको लाइन छ । त्यो वैदेशिक हस्तक्षेपको लाइन हो ।
स्पष्ट भाषामा भन्नुपर्दा कुलमानजीलाई रास्वपा कब्जा गर्न लगाउने कुनै शक्ति छ भने त्यो अमेरिका हो । अमेरिकी इशारामा उहाँ चल्नुभएको छ । रास्वपालाई त्यो कदापी स्वीकार्य छैन । वैदेशिक हस्तक्षेप स्वीकार गर्ने हो भने सभापति रवि लामिछाने २४ घण्टाभित्रै जेलबाट बाहिर निस्कन्छन्, त्यो अवस्था पनि हामीले बुझेका छौं । आयातित नेतृत्व रास्वपामा स्थापित हुन कठिन छ । हामीले स्वर्णीम वाग्लेलाई पार्टीमा भित्र्याउँदै गर्दा चुनाव जितेर आएको ६ महिनासम्म साधारण सदस्यको रूपमा बस्नुभएको थियो । ६ महिनाको कुलिङ्ग पिरियडपछि बल्ल उपसभापति हुनुभएको हो । अहिले भर्खरै सभापति, कार्यकारी चाहिन्छ भनेर कोही आउँदैमा पाउँछ ?
० यसअघि नै महाधिवेशनको मिति तय गरेर पनि भाग्नुपर्ने स्थिति किन आयो ?
– शुरुवाती चरणबाटै निर्मम आक्रमणमा पर्यो । जेनजी आन्दोलन बीचमा भयो । निर्वाचन सर्ने स्थिति रह्यो भने तत्काल महाधिवेशनमा जान्छौं । नयाँ–पुराना भनिएकाहरू एकातिर र रास्वपा अर्काेतिर छ अहिले । यस्तो अवस्थामा महाधिवेशनमा अल्झिने होइन कि जनताको माझ जानुपर्छ भनेर महाधिवेशन नगरेका हौं । कानुनी र संवैधानिक रूपमा हेर्ने हो भने सरकार आफैंले निर्वाचन सार्न सक्ने स्थिति छैन । निर्वाचन आयोगले समय अभाव, सुरक्षा, लजिष्टिकका कुरालाई उठाएर केही समय सार्ने तयारी छ । फागुनमा हिमाली जिल्लामा निर्वाचन गराउन कठिन भएका कारण एक डेढ महिना यताउता हुन सक्छ ।
० फागुन २१ पछिको चुनावी परिदृश्य कस्तो देख्नुहुन्छ ?
– जेनजीहरू आउने सम्भावनाचाहिँ म कहीँ पनि देखिरहेको छैन । हामी जेनजीको नेतृत्व उहाँ हो । उहाँको नेतृत्वमा निर्वाचनमा भाग लिन्छौं भनेर कोही अगाडि आएको पनि देखिन्न । पुराना पार्टी गर र मरको अवस्थामा छन् । मेरै निर्वाचन क्षेत्र काभ्रेमा कुनै दलबाट सिफारिस भएका मान्छेले प्रत्येक पालिकामा ५० वटा मोटरसाइल वितरण गर्न लागेको जानकारी प्राप्त भएको छ । मोटरसाइकल लिएर भए पनि आफ्नो मतमाथि आफैँ भ्रष्टाचार गर्ने समाज छ । यी खालको परिदृश्य अब गाउँघरमा देखिन सक्छ ।
० कुनै समयका सेलिब्रिटी रवि लामिछाने वित्तीय ठगीको आरोप लागेर कारागारमा हुनुहुन्छ । नेतृत्वकर्ता नै जेल पुगेपछिको जनाधार कस्तो छ ?
– एउटा व्यक्तिलाई मुद्दा चलाउनका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारी वकिलको कार्यालयलाई पत्राचार गर्नुपर्ने बाध्यता किन पर्यो ? हिजो उहाँलाई फसाउन अत्यत्न ठूलो भूमिका खेल्ने गगन थापालगायतलाई हामी जनस्तरबाट सोध्न लगाउँछौं, सदनमा देखाएको र हल्लाएको एक अर्बको ऋण माग फाराम र सहकारीमा उपस्थित भएर गरिएको भनिएको तमसुक बरु एक एक रूपैयाँ तिरेर हामी किन्छौं । गगनजीले पर्चा बनाएर त्यो बाँड्नुपर्छ । माकुरा र माछाले आफ्नै प्रजातिलाई खान्छ । तिनैको प्रजाति मिडियाकर्मीमा देखिरहेको छु । जेनजीले उठाएको दुईवटा माग हुन्– सुशासन र सामाजिक सञ्जाल । त्यही विषयमा जेनजीले भन्यो– गो ब्याक रवि । उहाँहरूलाई सुशासनको पीर भएको होइन, सामाजिक सञ्जाल बन्द भएको पीर मात्र परेको हो ।
अहिले प्रत्यक्ष कार्यकारी र २१ को निर्वाचनका लागि आन्दोलन गरेका होइनौँ भनिरहेका छन् । यो मुलुकले योभन्दा ठूलो दुःख सहनुपर्ने दिन आउँदैछ । हिजो नागरिकले आशा गरेका व्यक्ति अहिले झुट बोल्ने ठाउँमा पुगेका छन् । यसो भन्दा मलाई हर्क साम्पाङ र उनका साथीहरूले गाली गर्लान् तर समाज छचल्किरहेको छ । यो मुलुक धार्मिक र जातीय युद्धमा फस्छ । सही दिशानिर्देश नगर्ने हो भने युरोसियाले नभोगेको, रुवाण्डा, अफ्रिकाले नभोगेको नियति नेपालले भोग्नुपर्ने स्थिति देखिँदै छ ।
० तपाईं कर्पोेरेट कानुनको जानकार, तत्कालीन किष्ट बैंकका सिइओ कमल ज्ञवाली जेलबाट निस्कनु र प्रभु बैंकका सिइओ अशोक शेरचन हिरासतमा जानु संयोग मात्र हो ?
– यसमा कमल ज्ञवालीको कुनै भूमिका छैन । कुसुम लामाले दिएको जाहेरीका आधारमा अशोकहरू हिरासतमा जानुभएको हो । नबिल बैंकले प्रभु म्यानेज्मेन्टलाई कर्जा तिर्नुहोस् भनेर पत्र लेखेपछि अहिलेको विवाद शुरु भएको हो । देवी भट्टचन गाली बेइज्जती मुद्दामा जानुभयो । यही प्रकरणमा हिमालयन बैंकविरुद्ध सर्वाेच्च अदालत गुहार्नुभयो । दोश्रो टिबडेवाला काण्ड हो यो । ती प्राविधिक नागरिक (जसलाई दुर्गा प्रसाईंले १५ थान भन्नुहुन्छ) लाई हावी हुन दिनुहुन्न भनेर मिलाउने प्रयास गरेको हुँ । उहाँहरू सम्झौता गर्नेसम्मको स्थितिमा पुग्नुभएको थियो । पछि सम्झौता नगर्नुभएपछि यो स्थिति बिस्फोट भयो ।
० प्रभुजस्तै अन्य कुन–कुन बैंकमा समस्या देखिन्छ ?
– विशाल ग्रुपले चलाएको एनआइसी एसिया र कुमारीमा यस्तै घटना छन् । कमसल धितोमा कर्जा दिएका छन् । एउटा वित्तीय संस्थाबाट अर्काेतिर रोटेसेनमा जाने स्थिति अन्त्य नगर्ने हो भने वित्तीय क्षेत्रको अराजकता रोकिँदैन । जस्तो : नबिल बैंकमा ज्ञानेन्द्र ढुंगाना सिइओ हुनुहुन्थ्यो । कुनै बेला उहाँ बंगलादेश बैंकमा हुँदा त्यहाँ समस्या आएर नेपाल राष्ट्र बैंकले लिएको थियो । पछि नबिलमा जानुभयो । यताको कुरा मिलाउनलाई त्यहाँ बसेर अन्तर बैंकिङ्ग कारोबार गर्नुभएन होला भनी कसरी विश्वास गर्न सकिन्छ ?
० तपाईं माओवादीमा तर मारेर अहिले रास्वपा प्रवेश गर्नुभएको आरोप लगाउनेहरुलाई के भन्नुहुन्छ ?
– म कहिल्यै माओवादीको कमिटीमा रहिन । मैले लाभ लिएको भन्नलाई लाभ दिने साथीहरू पनि होलान् नि ? ०४९ सालमा शिक्षकको जागिर छाडेर हिँडेको हुँ । काठमाडौँमा आएर इनार खन्ने काम गरेको छु । कहीँ बदमासी गरेर हिँडेको प्रमाण ल्याउनुहोस्, जीवनभर जनआस्था पत्रिकाको हकर भएर काम गर्छु ।
टिप्पणीहरू