मुकुललाई बिदा गर्नुअघि २४ घण्टे पुजी

मुकुललाई बिदा गर्नुअघि २४ घण्टे पुजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निकाल्ने तयारी गरेको छ । सभापति रवि लामिछानेविरुद्ध बोल्दै हिँडेको आरोपमा उनलाई स्पष्टिकरण सोधेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउन लगिएको हो । 

यसअघि महामन्त्रीबाट हटाउँदा पनि रास्वपाले ढकालसँग स्पष्टिकरण मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको र उल्टै सभापतिमाथि अनेक आरोप र लान्छना लगाएको भन्दै आज बसेको केन्द्रीय समिति बैठकले पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

ढकालले भने स्पष्टिकरण सोध्ने केन्द्रीय समितिको निर्णयको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् । आफूमाथि गरिएको कारबाही सम्बन्धी निर्णयको प्रमाणित प्रतिलिपि माग्दै उनले चिठीसमेत पठाएका थिए । सभापति लामिछानेले पार्टीमा विधि-विधान मिचेको, थितिरहित हैकमे र निरङ्कुश शासन चलाइरहेको ढकालको आरोप रहँदै आएको छ ।  

पार्टी निर्णयमाथि नै चुनौती दिएपछि ढकाललाई सधैको लागि बिदा गर्ने तयारीका साथ रास्वपाले आज २४ घण्टे स्पष्टिकरण सोधेको हो । तोकिएको समयमा चित्तबुझ्दो जवाफ नदिए उनलाई साधारण सदस्यबाट पनि हटाउने स पार्टीको तयारी छ ।

टिप्पणीहरू