प्रदेशमा नलडेको रास्वपाले स्थानीय नछोड्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको उपनिर्वाचनमा सहभागिता जनाउने भएको छ । प्रदेश तहको निर्वाचन 'बहिष्कार' गरेको सो पार्टीले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो ।
आज बसेको केन्द्रीय समितिको बैठकले देशभर चुनाव लक्षित पार्टी गतिविधि सन्चालन गर्ने निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा 'स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्रता बनाउने' उल्लेख छ ।
सो पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको उनले जानकारी पनि दिए । यस सम्बन्धमा व्यापक छलफल गरेर निस्कर्षमा पुग्ने उनको भनाई छ ।
‘राजनीतिक दल चुनावमा भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ', लामिछानेले भने, 'थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल शुरुवात भएको छ ।’
रास्वपाले उपचुनावको तयारी थाल्ने निर्णय गरेता पनि सरकारले अहिलेसम्म मिति घोषणा गरेको छैन । नगरपालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त ३४ पदमा मंसिरमा उपचुनाव गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्तावमात्रै गरेको अवस्था छ ।
२१ सांसदसहित प्रतिनिधिसभाको चौंथो ठूलो दल रास्वपाले २०७९ को आम निर्न्वाचनमा प्रदेशमा उम्मेदवारी दिएको थिएन । बझाङ्ग प्रदेशसभा-१ (१) भएको उपचुनावमा पनि उसले सहभागिता जनाएको थिएन ।
टिप्पणीहरू