सुरक्षा थ्रेट पुष्टि गर्न मन्त्री र त्रिवि पदाधिकारीलाई स्ववियुको चुनौती

सुरक्षा थ्रेट पुष्टि गर्न मन्त्री र त्रिवि पदाधिकारीलाई स्ववियुको चुनौती

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राजनीतिक नेताको नजिक देखिन त्रिवि पदाधिकारीहरुले जनमानसमा भ्रम सिर्जना गरेको आरोप लगाएको छ । 

सुरक्षा थ्रेट आएको भनि त्रिविका पदाधिकारीहरु राजनीतिक दलको नजिक हुन खोजेको उल्लेख गर्दै स्ववियुले त्यसलाई आफ्नो शैक्षिक तथा प्रशासनिक असक्षमता ढाकछोप गर्न गरिएको अनर्गल प्रचारबाजी भनेको छ । सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै कसले कुन माध्यमबाट कसलाई धम्की दिएको हो ? पुष्टि गर्न चुनौती दिएका छन् ।

त्यस्तै, उनले त्रिवि पदाधिकारी असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित हुन नसकेको भनि प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो केही दिनयता विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित बन्न नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थिति नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले हामीलाई चकित तुल्याएको छ । कसले ? कहाँ ? कुन माध्यमबाट ? कहिले ? कसलाई ? कुन प्रकारको ? धम्की दिएको हो त्योसमेत प्रष्ट नपारी विद्यार्थी राजनीति र आन्दोलनमा भएका आजसम्मका उपलब्धिहरुको अवमूल्यन हुनेगरी विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ ।’

त्यस्तै, विश्वविद्यालय परिसरमा अत्याधिक प्रहरी जम्मा गरी रणभूमि बनाउन खोजिएको जिकिर गर्दै स्ववियुले दुःख व्यक्त गरेको छ । साथै, शिक्षामन्त्री विद्या भट्टराईलाई प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएको छ । 

‘विश्वविद्यालयको स्ववियु, नजिकैको प्रहरी प्रशासन, आफ्नै कार्यालय, आफ्नो टिमलाई समेत जानकारी नगराई शिक्षामन्त्रीलाई फेसबुकमा स्ट्याटस् लेख्न उत्प्रेरित गर्ने पदाधिकारीहरुलाई कसले–कसरी–कहिले–कुन माध्यमबाट असुरक्षा दिएको हो स्पष्ट पार्न अनुरोध गर्दै अनावश्यक राजनीतिकरणमा लाग्नुको साटो प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई समेत अनुरोध गर्न चाहन्छौं’,विज्ञप्तिमा उल्लेख छ । 

साथै, स्ववियुले त्रिवि पदाधिकारीको राजीनामासमेत मागेको छ । 

शिक्षामन्त्री भट्टराईले आज बिहान एक्समा स्ट्याटस् लेख्दै गृहमन्त्री रमेश लेखकसँग त्रिवि पदाधिकारीहरुको सुरक्षाका लागि माग गरेकी थिइन् । उनको स्ट्याटस्पछि नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले आफूनिकट प्राध्यापकलाई सेटिङमा सरुवा गरेर विभिन्न विभागमा लैजान शिक्षामन्त्रीले स्टण्टबाजी गरेको आरोप लगाएको छ । स्ववियु सभापति ओझा पनि नेविसंघमै आवद्ध छन् ।

 

टिप्पणीहरू