'एमाले पत्रकार'लाई पैसा खुवाएर शिक्षामन्त्रीले भ्रामक समाचार लेखाएको नेविसंघको दाबी

'एमाले पत्रकार'लाई पैसा खुवाएर शिक्षामन्त्रीले भ्रामक समाचार लेखाएको नेविसंघको दाबी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिएको आरोप लागेका नेपाली काँग्रेससम्बद्ध नेविसंघका नेता योगेन्द्र रावलले सेटिङमा कर्मचारी भर्ती गर्न नपाएपछि कुत्रिम अफवाह फैलाएको दाबी गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले शिक्षामन्त्री विद्या भट्टराई र शिक्षाध्यक्ष खड्ग केसीको सेटिङ्गमा आफ्ना कार्यकर्ता भर्ती सम्भव नभएपछि कृतिम 'सुरक्षा थ्रेट'को अफवाह फैलाइएको बताए । यसका लागि शिक्षामन्त्रीकै निर्देशनमा शिक्षाध्यक्ष केसीले आफ्नै कार्यालयमा बोलाई 'लालधारी पत्रकार'लाई खामबन्दी रकम बुझाएको समेत उनको आरोप छ । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूर्वप्रेस सल्लाहकार कुन्दन अर्याललाई शिक्षाध्यक्ष कमरेड खड्ग केसीले माननीय शिक्षामन्त्रीको निर्देशनमा आफ्नै कार्यालयमा बोलाई लालधारी पत्रकारहरुलाई कृत्रिम सुरक्षा थ्रेटको अफवाह फैलाउन खामबन्दी रकम बुझाएपछिका प्रायोजित समाचारहरु नजिकबाट नियालिरहेका छौं,’ रावलले लेखेका छन् । 

त्रिविको पाठ्यक्रमबाटै डेमोक्रेटिक विचार बन्देज र शिक्षालयबाट कम्युनिष्टिकरणको अभ्यास गर्न खोजिएको भन्दै उनले प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीमाथि नियोजित ढंगबाट निर्मम संरचनागत प्रहार गर्ने गरिएको आरोपसमेत लगाए । 

उनले भनेका छन्, ‘सुनियोजित ढंगले विश्वविद्यालयको पाठ्यक्रममै डेमोक्रेटिक बवचारहरुलाई बन्देज गर्ने, शिक्षालयहरुबाट कम्युनिष्टिकरणको अभ्यास गर्न खोज्ने, प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुमाथि नियोजित ढंगबाट निर्मम संरचनागत प्रहार गर्ने र आफ्नो अक्षमताको ढाकछोप गर्न प्रियतावादी राजनीति गर्ने अनि अमुख शक्तिको निर्देशनमा विश्वविद्यालयको फराकिलो दायरा खुम्च्याउने कुचेष्टा त्रिभुवन विश्वविद्यालयमा सम्भव छैन । यो कदापि स्वीकार्य छैन ।’

केही दिनदेखि त्रिविका पदाधिकारीमाथि हमला गर्न खोजिएको र फोन गरेर धम्की दिने गरिएको भन्दै हिजो शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीसँग सुरक्षा माग गरेकी थिइन् ।

रावल उनै हुन् जो त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई क्रिकेट मैदान नजिकैको नेपाल बैैंकको एटिएमबाट पैसा झिकेर फर्कंदै गर्दा फलामे रडले हानेर निर्घात कुटेका थिए । २०७७ असोज २० गते भएको उक्त प्रहारबाट चलाउनेको तिघ्राको हड्डी भाँचिएको थियो ।

त्यसपछि जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा रावललाई चलाउनेको उपचार खर्च २८ लाखसहित क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उनीविरुद्ध २ वर्ष कैदसमेत तोकिएको थियो । तर गत जेठ ३० गतेको मन्त्रिपरिषद बैठकले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

 

टिप्पणीहरू