नवऔपनिवेशिक पुँजीवादको संकट र समाधान (भाग २)

नवऔपनिवेशिक पुँजीवादको संकट र समाधान  (भाग २)

पूर्णबहादुर सिंह ‘समरजंग’

पुँजीवादको स्वरूप प्रारम्भमा व्यापारिक थियो । त्यसपछि वस्तु उत्पादनमुखी पुँजीवाद विकसित भयो । त्यसपछि औद्योगिक पुँजीवाद विकसित भयो । अहिले एक्काईसौँ शताब्दीमा उदीयमान उत्तरऔद्योगिक पुँजीवादको अवस्था छ । प्रविधि र विज्ञानमा नयाँ खोज र आविष्कारले प्राविधिक–वैज्ञानिक क्रान्तिमार्फत उद्योगभन्दा ज्यादा सेवा व्यवसाय क्षेत्र फैलिरहेको छ । यो अवस्था नेपाल र विश्वव्यापी नै देखापरिरहेको छ । पुँजीवाद र नवऔपनिवेशिक पुँजीवादमा आश्रित चरित्रका पुँजीवादी मुलुकहरूमा रहेको पुँजीवादका केही तात्विक महत्वका भिन्नता र विशेषताहरू छन् ।

औद्योगिक पुँजीवादमा उद्योगधन्दाहरूको व्यापक विकास हुन्छ । नवऔपनिवेशिक पुँजीवादमा अधिकांश विशेषता भए तापनि औद्योगिक पुँजीवादको विकास हुन सक्दैन । त्यसले देशभित्रै श्रमिक वर्गको श्रमशक्तिको व्यापक बजार र बिक्री हुन सक्दैन । राष्ट्रिय उद्योगहरू र त्यसबाट उत्पादित तयारी मालको निर्यातको नोक्सानीमा अन्तर्राष्ट्रिय आयात व्यापारको धेरै विकास हुन्छ । अन्तर्राष्ट्रिय वित्तीय पुँजीको सर्तबन्दीमा परेर र आयातित सामानसँगको प्रतिस्पर्धामा टिक्न नसकेर भएका राष्ट्रिय उद्योगहरू पनि ढल्छन् । उद्योग र कृषिको ध्वंशमा सेवा, व्यापार र व्यवसायको विकास हुन्छ । राष्ट्रिय पुँजीपति वर्गको ध्वंशमा दलाल पुँजीपति वर्गको विकास हुन्छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका विभिन्न नवऔपनिवेशिक उत्पीडन भोगिरहेका मुलुकको अवस्था पनि यस्तै छ । नेपाल नवऔपनिवेशिक मुलुकमध्ये एक हो ।

नेपालको पुँजीवाद औद्योगिक पुँजीवादभन्दा फरक छ । यो विश्व पुँजीवादको मुख्य केन्द्रमा रहेको, औद्योगिक क्रान्तिमार्फत् ठूला पुँजीवादी उद्योगधन्दा र व्यवसायको व्यापक विकास भएको र एकाधिकार पुँजीवादको हदसम्म पुँजीवादले विकास गरिसकेको विकसित पुँजीवादी मुलुक होइन । यो विश्व पुँजीवादी व्यवस्थासित अभिन्न रूपले गाँसिएको अल्पविकसित पुँजीवादी मुलुक हो । नेपालमा ठूलठूला पुँजीवादी उद्योग व्यवसाय व्यापक विकसित हुन सकेको छैन । नेपालमा मध्यम वर्ग सङ्ख्या र अनुपातमा बढ्दैछ । तर कृषि र गैरकृषि क्षेत्रमा पनि सबैभन्दा बढी निम्नपुँजीपति वर्गको र साना उत्पादकको सङ्ख्या बढी छ । नेपालको नवऔपनिवेशिक पुँजीवादको विशेषता उद्योग र कृषि ढल्ने हुन्छ । ती दुवैको ध्वंशमा अन्तर्राष्ट्रिय व्यापार, सेवा र रेमिटेन्स आय बढिरहेको छ । 

नेपाल अहिले अर्थतन्त्रको बनोटको हिसाबले निजी स्वामित्वमा आधारित व्यापार व्यवसाय र उद्योगधन्दा मुख्य भएको मुलुक हो । नेपालको पुँजीवाद औद्योगिक पुँजीवादका रूपमा विकसित नभएर नवऔपनिवेशिक पुँजीवादमा विकास हुनुको एउटा मुख्य कारण विकास खर्चका लागि अत्यधिक वैदेशिक निर्भरता हो । निर्यात र आयातबीच ठूलो खाडल छ । देशमा श्रमशक्ति बेरोजगार छ । युवाशक्ति विश्वबजारमा सस्तो एवम् अपमानित श्रमिकका रूपमा बेचिरहेको छ । नवऔपनिवेशिक र आश्रित चरित्रका पुँजीवादी मुलुकहरूमा विकसित यो पुँजीवाद नै हो । यो पराश्रयी चरित्रको पुँजीवाद हो । यो नवऔपनिवेशिक चरित्रको पुँजीवाद हो । नेपालमा विकसित नवऔपनिवेशिक पुँजीवाद हो । औद्योगिक विकास र मजदुर वर्गको विकास व्यापक भइरहेको छैन । आज नेपालमा बहुरूपी पुँजीवादका रूपमा विश्वसाम्राज्यवादको प्रत्यक्ष एवम् परोक्ष हाबी भइरहेको छ ।

दलाल पुँजीवाद

सामन्तवाद र पँुजीवादले आफूलाई सङ्कटबाट बचाउन र श्रमजीवी जनताबाट आफ्नो सत्ता जोगाउन एकता गरेपछि दलाल पुँजीवादको उदय भएको हो । श्रमजीवी जनतालाई पुँजीवादले मात्र दमन गर्न नसक्ने अवस्थाको सिर्जना, तेस्रो विश्वमा पुँजीवादी एवम् नयाँ जनवादी क्रान्तिसमेत रोक्ने उद्देश्य, सामन्तवाद र पँुजीवादबीच एकता अनिवार्य, विदेशी लगानी ल्याउने, सेवा, पर्यटन, औद्योगिक उत्पादन र कृषि सबै क्षेत्रमा कमिसनबाट पँुजी सङ्कलन गर्ने र विश्वसाम्राज्यवादको हितअनुकूल राष्ट्रघाती एवम् जनविरोधी सन्धिसम्झौता गर्नु नै दलाल पुँजीवादको आमविशेषता रहेको छ ।

आज नेपालमा दलाल पुँजीवादको पनि प्रभाव बढिरहेको छ । राजनीतिक, आर्थिक, प्रशासन, सुरक्षा, न्यायालय, शिक्षा–स्वास्थ्यलगायत सबै क्षेत्रमा दलाल पुँजीवादको प्रवेश एवम् प्रभाव छ । सिंहदरबारदेखि गाउँसम्म अथवा सहरदेखि गाउँसम्म यसले आफ्नो जरा फैलाएको छ । यसले कुनै क्षेत्र र राजनीतिक दल पनि छोडेको छैन । इतिहासको अध्ययन गर्दा दलाल पुँजीवाद साम्राज्यवाद एवम् सामन्तवादको गठजोडबाट पैदा हुने ठिमाहा हो । साम्राज्यवादको दलाली नै यसको मुख्य विशेषता हो । सन् १९१९ मा पुँजीवादी साम्राज्यवादले सयौँ मुलुकहरूमा उपनिवेश कायम गरी विश्वको ७० प्रतिशत जनतामाथि अतिक्रमण, शोषण र उत्पीडन गरेको थियो । सन् १९८० सम्म पुग्दा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनद्वारा उपनिवेश बढारियो । त्यसपछि साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष उपनिवेशबाट पछि हट्ने, अर्धउपनिवेश कायम गर्ने, वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई कमजोर बनाउने, कुलीन वर्गका व्यक्तिलाई आफ्नो दलाल बनाउने र तिनीहरूको हातमा सत्ता सुम्पने नयाँ रणनीति अवलम्बन गरेका छन् । 

राजतन्त्रात्मक वा गणतन्त्रात्मक मुलुकहरूमा शासन सत्तामा टिक्नका लागि त्यसको दलाल बन्ने अवस्था पैदा गरिरहेको छ । माओको नेतृत्वमा सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्तिको विजयपछि पुँजीवादी सत्ता आफ्नो अस्तित्वको लडाइँ लड्न विवश भयो । त्यसको फलस्वरूप सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको नेतृत्व गर्न पुगेको राष्ट्रिय पुँजीपति वर्गले आफ्नो पहिचान गुमाउन पुगेको थियो । सामन्तवाद र साम्राज्यवादको दलालीमा सत्ता साझेदारीका लागि मात्र आन्दोलन गर्ने दलाल पुँजीवादी चरित्रमा पतन हुन पुग्यो र दलाल पुँजीवादको उदय भयो । दलाल पुँजीवादको आफ्नो दर्शन हुँदैन । दलाल पुँजीवादको वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोत एवम् आधार सामन्तवाद, मूलतः साम्राज्यवाद नै हो । 

आज नेपालमा राज्यसत्ताको चरित्र नवऔपनिवेशिक दलाल पुँजीवादी पनि छ । सन् १८१६ को सुगौली सन्धियता शासकहरूको सामन्ती राष्ट्रवाद, देशभक्ति, राष्ट्रसेवी र राष्ट्रिय पुँजीपतिको चरित्रमा ह्रास हुँदा राज्यसत्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक हुन पुगेको थियो । कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र पुरानै नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था हो । लेनिनले ‘देशमा एउटा पनि त्यस्तो व्यवसाय छैन, त्यसले उच्चस्तरको नाफा कमाउन र विदेशी ऋण जारी गर्ने दलालीबाट पाइन्छ ।’ उल्लेख गरेजस्तै अवस्थामा दलाल पुँजीवाद पुगेको छ । दलाल पुँजीवादको समाधान वैज्ञानिक समाजवादी जनक्रान्तिले गर्नेछ ।

नोकरशाही पुँजीवाद

सामन्तवाद र दलाल पुँजीवादले राष्ट्रसेवकहरूलाई आफ्नो पक्षमा ल्याएर सत्ता बचाउन र सञ्चालन गर्नसक्ने अवस्थामा नै नोकरशाही पुँजीवादको जन्म भएको अध्ययनले देखाउँछ । आज उच्च पदका राष्ट्रसेवकहरू देश र जनताको सेवा र रक्षा गर्ने जिम्मेवारीबाट च्यूत भई सामन्त र दलालहरूको इसारामा चल्ने, पद, प्रतिष्ठा र आर्थिक प्रलोभनमा सामन्तवाद र दलाल पुँजीवाद तथा नवऔपनिवेशिक पुँजीवादको सेवा गर्ने नै नोकरशाही पुँजीवादका हिमायती हुन् । 

घूस, भ्रष्टाचार र कमिसनबाट पुँजी संकलन गर्ने, नवऔपनिवेशिक पुँजीवादी दलाल सत्ताले पेस गरेका राष्ट्रघाती सन्धिसम्झौतालाई अनुमोदन गर्न सहयोग गर्ने, सत्ताको स्थायी शक्तिका रूपमा काम गर्ने, नवऔपनिवेशिक पुँजीवादी दलाल सत्ताको आदेशमा श्रमिक जनतामाथि र न्यायपूर्ण जनक्रान्तिलाई दमन गर्न तयार हुने, राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनका विरुद्ध दमनचक्र चलाउने नोकरशाही पुँजीवादको लाक्षणिक विशेषता रहेको छ । नोकरशाही पुँजीवादी वर्ग र जमिनदार वर्ग सबैभन्दा पिछडिएको र प्रतिक्रियावादी उत्पादन सम्बन्धको प्रतिनिधित्व गरिरहेको हुन्छ । उनीहरू जनक्रान्तिको निशानामा हुन्छन् । राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवाद र सामन्तवादको उत्पीडन र अवरोधहरूको सिकार भइरहेको हुन्छ । 

राष्ट्रिय पुँजीपति वर्ग जनक्रान्तिको पक्षधर एउटा शक्ति हो । आज राष्ट्रिय पुँजीपति वर्ग कमजोर र अस्थिर छ । कमरेड माओले पुँजीवादी नयाँ जनवादी क्रान्तिको कार्यभार पुँजीवादी वर्गको नेतृत्वद्वारा होइन, सर्वहारा वर्गको नेतृत्वद्वारा मात्र पूरा गर्न सकिन्छ भन्नुभएको थियो । नोकरशाही पुँजीवादको अन्त्य वैज्ञानिक समाजवादी जनक्रान्तिद्वारा नै हुनेछ ।
क्रमशः..

टिप्पणीहरू