संविधान दिवसको दिन राजधानीमा जनप्रदर्शन गर्ने बहुमतको निर्णय

संविधान दिवसको दिन राजधानीमा जनप्रदर्शन गर्ने बहुमतको निर्णय
सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको व्यवस्था खारेजीको माग गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले १० बुँदे माग प्रस्तुत गर्दै त्यस्तो माग गरेका हुन् । 

उनले मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी भ्रष्टाचारमा अख्तियार नलाग्ने प्रावधान पनि खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, सबै खाले भ्रष्टाचार बन्द गर्न, भ्रष्टाचारमा मुछिने न्यायाधीशहरुलाई पनि अख्तियारको छानबिनमा ल्याउने, भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पूर्ण सम्पत्ति स्वदेश फर्काउने व्यवस्था मिलाउन पनि भनिएको छ । 

पार्टीले अहिलेसम्मका सम्पूर्ण उच्च पदस्थहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचार गरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत माग राखेको छ । आफ्ना मागहरु सम्बोधन नभएमा भदौ १४ गतेदेखि संघर्षका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । 

संघर्षका कार्यक्रमअन्तर्गत शुक्रबार मुलुकभरका जिल्लामा कोणसभा गरी शनिबार प्रत्येक प्रदेश राजधानीमा भ्रष्टाचार काण्डबारे सार्वजनिक गर्ने जनाइएको छ । यस्तै, भदौ १६ गतेदेखि १९ गतेसम्म ७७ वटै जिल्लामा भ्रष्टाचारका घटनाबारे जानकारी गराउने पार्टीले बताएको छ । 

भदौ २० गते देशभर भ्रष्टाचार र वित्तिय शोषणविरुद्ध मसाल जुलुस निकाल्ने, २५ गते भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति घोषणा गर्ने, २६ गतेदेखि ३१ गतेसम्म महानगर, उपमहानगर र नगरपालिका तथा गाउँपालिकामा बेरुजुको विवरण सार्वजनिक गर्न दबाब सिर्जना गर्ने र असोज ३ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू