ओमानी विदेशमन्त्रीलाई काठमाडौंमा दूतावास खोल्न आग्रह

ओमानी विदेशमन्त्रीलाई काठमाडौंमा दूतावास खोल्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमादलाई काठमाडौंमा राजदूतावास खोल्न आग्रह गर्नुभएको छ । शिष्टाचार भेटवार्ताका लागि शीतल निवास पुगेका मन्त्रीसँग राष्ट्रपति पौडेलले नेपाल र ओमानबीचको परराष्ट्र नीति, रोजगार, व्यापार, पर्यटनलगायतका विषयमा छलफल गर्नुभएको बताइएको छ ।

राष्ट्रपति पौडेलले सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्यबारे जानकारी गराउनुभएको थियो । वैदेशिक रोजगारीको लागि ओमान जाने नेपालीको संख्या बढिरहेको जानकारी दिँदै काठमाडौंमा दूतावास खोल्न प्रस्ताव गर्नुभएको हो ।

प्रत्युत्तरमा विदेशमन्त्री हमादले यसबारे ओमानले चाँडै प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाली श्रमिकहरु इमान्दार रहेकोमा प्रशंसा गरेको शीतल निवासले जनाएको छ ।

विदेशमन्त्री हमादले दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । आजै नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग द्विपक्षीय भेटवार्ता गरेका उनी विशेष विमानमा अपरान्ह स्वदेश फर्केका हुन् ।

टिप्पणीहरू