योगेशलाई गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने माओवादी चेतावनी
नेपाल कम्युनिष्ट पार्टी (माऔवादी) ले एमाले सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । पार्टी सचिव गौरवले सांसद भट्टराईलाई जहाँ भेट्यो त्यही जनकारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
सांसद भट्टराईले प्रतिनिधिसमाको अस्तिको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएका थिए । उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को माग छ ।
‘उक्त टिप्पणीप्रति भट्टराईले सार्वजनिक रुपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘ उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौं ।’
सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई कारबाही गर्ने पनि पार्टीले चेतावनी दिएको छ । ‘स्मरण रहोस्, सत्ताको मातमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्दै हिँड्ने जो कोहीलाई पनि हाम्रो पार्टीले नछाड्ने र जन कारवाही गर्ने चेतावनी दिन चाहन्छौ’, विज्ञप्तिमा लेखिएको छ ।
टिप्पणीहरू