बङ्गलादेश, आरक्षण र युनुसको उदय
-मिमबहादुर परियार
दक्षिण एसियाको राजनीतिक पछिल्लो समय निकै अस्थिर छ । मानिसमा “के गरौं कसौं गरौं’ भन्ने अन्यौल भाव देखिन्छ । त्यसले उत्पन्न गरेको आक्रोशको आगोले श्रीलंकामा राजापाक्ष र बङ्गलादेशमा हसिनाको सत्ता डढाई दियो । दक्षिण एसियाली राष्ट्रमा आर्थिक हिसाबले श्रीलंका र बङ्गलादेश बलिया मानिन्थे । यसका बाबजुद आन्दोलनको आँधीबेहरीले शासकहरुलाई बढारिदियो । श्रीलंकामा बढ्दो महङ्गी, भ्रष्टाचार, आर्थिक संकट, नातवाद, कृपावादबाट आजित जनताले राजापाक्ष सत्ता ढलाएका थिए । त्यसको केही वर्षपछि बङ्गलालादेशमा ठ्याक्कै त्यस्तै दृश्य देखियो तर कारण भने बेग्लै थियो ।
करिब १७ करोड जनसंख्या रहेको बङ्गलादेश द्रुत आर्थिक वृद्धि हासिल गरिरहेका विश्वका मुलुकमध्यमै पर्दछ । यहाँका केही भौतिक संरचनाको निर्माण र उद्योगको विस्तार विश्वमै अनुकरणीय हुँदै थियो । शेख हसिना सरकारले नयाँ सडक, कारखाना र राजधानी ढाकामा मेट्रो रेलसमेत बनाएर ठूला परिवर्तन गरेको थियो ।
बंगलादेशमा पछिल्लो दशक प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ भने २० वर्षमा २ करोड ५० लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर आएको विश्व बैङ्कले जनाएको छ । यति हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई चरम भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । विपक्षी राजनीतिक दलहरुले तथ्याङ्कमा देखिएको आर्थिक वृद्धिले प्रधानमन्त्रीको अवामी लिग निकटहरूलाई फाइदा पुर्याएको दाबी गर्दै आएका छन् ।
विकासको रफतारसँगै बढ्दो जनसङ्ख्या र शैक्षिक बेरोजगारीको समस्या बङ्गलादेशी सरकारको मुख्य टाउको दुःखाइको विषय बनेको थियो । शैक्षिक बेरोजगारीको विषयलाई आरक्षणसँग जोड्दै विद्यार्थीहरुले केही महिनाअघिदेखि हसिना सरकारविरुद्ध आन्दोलन शुरु गरेका थिए । सुरुआति चरणमा सरकारले आन्दोलन दबाउन कुनै कसर बाँकी राखेन । यसक्रममा करिब तीन सयबढी आन्दोलनकारीको मृत्यु भएको थियो । आन्दोलन चर्किएपछि अधिकांश माग सम्बोधन भैसकेका थिए । तथापि उक्त प्रदर्शन सरकारविरोधी प्रदर्शनको रूपमा परिणत हुन पुग्यो । फलतः प्रधानमन्त्री शेख हसानीको १५ वर्षको शासन सत्ता अन्त्य भयो । र, उनलाई देश छोडेर भाग्न बाध्य गरायो ।
बङ्गलादेशी विद्यार्थीले किन आरक्षणको विरुद्धमा आन्दोलन गरे ? उनीहरूले विरोध गरेको आरक्षण कस्तो प्रकारको हो ? प्रथमतः यो बुझ्न आवश्यक छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदाको बखतमा लडाइँ लडेका व्यक्तिले खेलेको भूमिकाका आधारमा ती व्यक्तिका सन्तानका लागि सरकारी जागिरमा ३० प्रतिशत स्थान आरक्षित गरिएको थियो ।
सन् १९७२ देखि यो व्यवस्था लागू गरेयता पनि समय–समयमा भने विरोधका आवाज सुनिएका थिए । अहिले विशेषगरी आन्दोलनरत विद्यार्थी एवम् अभियानकर्ताहरूले आरक्षणको प्रावधान विभेदकारी भएको भन्दै उक्त त्यसलाई खारेज गर्नुपर्ने माग उठाईरहेका थिए। सन् १९७१ को आरक्षण व्यवस्थाले अवामी लिग पार्टीका नेता कार्यकर्तालाई बढी फाइदा पुगेको आरोप आन्दोलनकारीले लगाएका थिए ।
विद्यार्थी आन्दोलन र बङ्गलादेशको वर्तमान परिस्थितिलाई लिएर अहिले विश्वभर अनेक अड्कलबाजी भैरहेका छन् । झट्ट हेर्दा विद्यार्थी आन्दोलनका रुपमा प्रकट भएको आन्दोलनको स्वरुप र परिणाम अकल्पनीय रुपमा अगाडि आएको छ । हसिना सरकारको विघटन र बहिर्गमनलाई लिएर कतिपयले हसिनाको कार्यशैलीलाई प्रमुख कारण मानेका छन् भने केहीले पश्चिमी राष्ट्रको चलखेलको रुपमा बुझेका छन् ।
अर्थशास्त्रका अध्येता तथा अध्यापक प्रकाश खड्काका अनुसार बङ्गलादेशको वर्तमान अवस्थाको पछाडि तीन प्रमुख कारण रहेका छन् । त्यसलाई तीनवटा साइकल व्यापार, हतियार व्यापार र धर्म अर्थात् बाइबल प्रचारप्रसारका रुपमा उनले अर्थ्याए । शेख हसिना अमेरिकीहरुको मुख्य रूचिको विषयउपर निर्मम भएपछि बङ्गलादेश धेरै पहिलेदेखि समस्यामा थियो । त्यसका लागि ऊ उपयुक्त मौकाको पर्खाइमा थियो । यहिबेला त्यहाँको राजनीतिक माहोल आममानिसले सोचेभन्दा फरक रुपमा अगाडि आयो । स्वयम् आन्दोलनकारीले यसको कल्पनासमेत गरेका थिएनन् । यही मौकाको प्रयोग गरी एकाएक आरक्षण विरोधी आन्दोलनको धारमा राजनीतिक उथलपुथल मच्चाउन अमेरिका सफल भएको खड्काको बुझाई छ ।
प्रधानमन्त्री हसिनालाई निर्वासनमा पठाइसकेपछि तीनै आरक्षणविरोधी आन्दोलनका विद्यार्थी सम्मिलित पश्चिमी मुलुकसँग निकट मोहमम्द युनुसलाई अगाडि सारेर अन्तरिम सरकार बनाइएको छ । बाहिरबाट धेरैले आन्दोलनको प्रशंसा गरेका छन् । कतिले नेतृत्वसँग आजित भएपछि जनता विकल्प रोज्ने बाध्य भएको जिकिर गरिरहेका छन् । तर, के आन्दोलनकारीले जे गरेका छन् त्यो ठिक हो त ? बङ्गलादेशमा देखिएको भित्रीरुप र वर्तमान अवस्थाले राम्रो सङ्केत दिइरहेको छैन । मुलुकभर सामाजिकआर्थिक अस्तव्यस्तता र अराजकता यत्रतत्र देखिन्छ । अहिले त्यहाँ सबैभन्दा बढी मारमा परेको क्षेत्र व्यापार–व्यवसाय हो । केही समयअघि उसको मुख्य शक्ति व्यापार थियो । बङ्गलादेशको आर्थिक उचाइको आधार त्यहि मानिन्छ ।
अहिले के छ ? यस्तो दृश्य र आभासले आम जनता आक्रान्त भएका छन् । यो के भयो एकाएक भनी बङ्गलादेशी जनताको प्रश्न छन् । वास्तवमा जे नहुनुपर्ने थियो त्यही भइरहेको छ । धार्मिक अतिवाद, अराजकता, अस्तव्यस्तता, बन्द आदी । यस्तो विकराल अवस्थामा बङ्गलादेशको नेतृत्वमा आउने व्यक्तिलाई सहज भनै पक्कै छैन् । उसका विरोधी पहिल्यै तम्तयार भएर बसेका छन् ।
राजनीतिक संकटको घडीमा सत्तामा आएका मोहम्मद यनुस को हुन् ? उनको छवि कस्तो छ ? धेरैको प्रश्न यही छ । उनी तीनै व्यक्ति हुन् जसलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनको अर्काे मुख्य काम भनेको ग्रामीण बैङ्क र लघुवित्तको स्थापना गरी त्यहाँका ग्रामीण भेगका किसानको आर्थिक उत्थान गर्नु थियो । यसैलाई मुख्य आधार मानेर नोवेल पुरस्कार समितिले उक्त पुरस्कार प्रदान गरेको थियो । यसैका कारण युनिसको सर्वत्र चर्चा भयो । उनको बारेमा सन् २००७ पछि विभिन्न बुझाइ अड्कल शुरु भैसकेका थिए । आवामी लिग तथा प्रतिपक्ष राजनीतिक घटकले उनलाई पश्चिमा राष्ट्रको गोटी, विदेशी एजेन्ट भनिरहेका छन् । बङ्गलादेश बाहिरका अन्तर्राष्ट्रिय मिडियामा आएका विचार स्तम्भ हेर्दा पनि उनको छविउपर मिश्रित प्रतिक्रिया रहेको बुझ्न सकिन्छ ।
युनुस प्राज्ञिक व्यक्ति छउन्जेल सबै ठिकठाक थियो । जब उनी संकटग्रस्त अवस्थामा राजनीतिमा आए उनलाई फरक कोणबाट हेर्न थालियो । फेब्रुअरी २००७ मा युनुसले बंगलादेशको राजनैतिक क्षेत्रमा प्रवेश गरेका थिए । त्यसताका उनले राजनीतिक पार्टी, नागरिक शक्ति गठन गरेर आगामी चुनावमा लड्ने इच्छा घोषणा पनि गरे । उक्त घोषणा दुई प्रमुख दल अवामी लिग र बङ्गलादेश नेशनल पार्टीबीचको आपतकाल र गम्भीर द्वन्द्वको बेला आएको थियो । त्यसलगत्तै उनले आफ्नो आन्दोलनले सुशासनको पुनर्स्थापना र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तथापि, युनुसले समर्थनको कमीलाई आधार मान्दै पार्टी स्थापना गर्ने प्रयास त्यागे । यसबाट राजनीतिक दल र जनता उनीप्रति शंकालु भएका थिए ।
तत्कालीन प्रधानमन्त्री हसिनाले युनुसले विकास गरेको लघुवित्तलाई ‘गरिबहरुको रगत चुस्ने’ संस्थाको आरोपसमेत लगाइन् । भारतसहित विभिन्न देशका आलोचकहरुले ’माइक्रोलेन्डर्सले बढी ब्याज असुल्छन् र गरिबहरुबाटै पैसा कमाउँछन्’ भन्ने आलोचनात्मक टिप्पणी गरेका थिए । त्यसमा यूनुसको प्रतिवाद थियो– विकासशील देशमा लगाइएको ब्याजदरको तुलनामा उनको संस्थाले लगाएको ब्याजदर निकै कम छ । सन् २०११ मा हसिना सरकारले उनलाई ग्रामीण बैंकको प्रमुख पदबाट हटाइदिएको थियो ।
पछिल्लो समय युनुसको बङ्गलादेशी राजनीतिसँग ठीकठाक सम्बन्ध थियो । तथापि एकथरी उनको कामबाट खुसी थिए भने केही समूह आक्रोशित । उनको पश्चिमी मुलुकप्रतिको मोहले अन्तर्राष्ट्रिय परियोजनामा सङ्लग्न हुनुले पनि धेरैलाई विदेशी एजेन्टको रुपमा आरोप लगाउन सजिलो भएको थियो । अर्कोकुरा बङ्गलादेशको आन्तरिक राजनीतिलाई बाहिरी मुलुकसमक्ष पु¥याउने कार्यलाई शंकाका रुपमा हेरिएको थियो । जसकारण उनीमाथि करिब तीन सय मुद्दा दर्ता थियो । यसबाट के पुष्टि हुन्छ भने युनुस स्वच्छ छबिका व्यक्ति भने होइनन् । अन्तरिम सरकारको मुख्य व्यक्ति हुनुअघि उनी फ्रान्समा थिए ।
अन्त्यमा, युनुसक सत्ता आरोहणलाई आधार मानेर विमर्श गर्दा बङ्गलादेशको राजनीतिलाई सुधार्ने भन्दा बिगार्ने भूमिका बढी देखिएको छ । अहिले जुन दृश्य छ त्यसले आर्थिक नोक्शानी र राजनीतिक कलहलाई बढाउने बाहेक अरु काम केही नगर्ने सम्भावना बढी छ । यदि जनता अवामी लिग र हसिनाप्रति खुसी थिएनन् भने चुनावमा हिसाबकिताब हुन्थ्यो होला । चुनावसम्म पर्खन सकिन्न थियो भने जनमत संग्रहबाट ताजा म्यान्डेटमा जान सकिन्थ्यो । विद्यार्थी तथा अन्य शक्तिले देशभित्रै सत्तारुढहरुलाई खबरदारी दिएर व्यवस्थित तरिकाले अगाडि जानुपर्थ्यो ।
देशभित्रको आन्तरिक राजनीतिक समस्यालाई आन्तरिक समझदारिबाट हल गर्नुपर्छ । राजनीतिक रङ्ग दिएर गतिशील राष्ट्रलाई बन्दी बनाउने, वैदेशिक हस्ताक्षेपलाई ठाउँ दिनका लागि आन्दोलनलाई प्रयोग गर्नु सार्वभौम राष्ट्रका लागि ठूलो क्षति हो । बिडम्बना बङ्गलादेशको वर्तमान अवस्थाले केही झुण्डको आक्रोशलाई क्षणिक शान्ति त देला तर समग्र राष्ट्रलाई उथलपुथल राख्ने काम भने अवश्य गरेको छ । त्यसैले त त्यहाँ उथलपुथल मच्चिएको छ ।
टिप्पणीहरू