एमालेको ‘चक्रपथ’ मा भाँडभैलो

एमालेको ‘चक्रपथ’ मा भाँडभैलो
सुन्नुहोस्

पूर्वराष्ट्रपति विद्या भण्डारी निकट चक्रपथ अनलाइनमा भाँडभैलो मच्चिएको छ । 

पहिला बजार व्यवस्थापनसमेतको जिम्मेवारी बहन गर्ने भन्दै सम्पादक हुन पुगेका दीपक पाण्डेले सम्पादकीय टीमसमेत राम्रोसँग चलाउन नसकेपछि उनको टीमका सबै पत्रकारलाई भदौसम्मको तलब दिने गरी बिदा गरिएको छ । 

उनीहरुलाई भदौसम्मको तलब आफैंले खोजखाज गरेर भए पनि दिने जिम्मा अध्यक्ष डेगेन्द्र पाण्डेले लिएका छन् । उनी पूर्वराष्ट्रपतिका साख्खै भाइ हुन् ।

सम्पादक पाण्डेले सूचना विभागमा चक्रपथ अनलाइनको सम्पादकका रुपमा दर्ता भएका पत्रकार दिनेश घिमिरेमाथि नै नराम्रो व्यवहार गर्न थालेपछि उनीसँग व्यवस्थापन रुष्ट रहँदै आएको थियो । पाण्डेले घिमिरेभन्दा माथि प्रताप दुलाललाई लगाएर उनीमाथि शासन लगाउन खोजेको भन्दै त्यहाँ भाँडभैलो शुरु भएको थियो । 

पत्रकारलाई भदौसम्म तलब दिन नसकेपछि व्यवस्थापनले पाण्डेसँग बजारबाट ल्याउने भनिएको पैसाबारे सोधखोज गरेको थियो । तर, आफूले सम्पादकीय टीममात्रै चलाउने, पैसा उठाएर ल्याउन नसक्ने भनेपछि उनको सिंगो टीम नै बाहिरिएको हो ।
चक्रपथको व्यवस्थापनले असोज महिनादेखि लागु हुने गरी नयाँ सम्पादकीय समूह तयार पारिरहेको छ ।

टिप्पणीहरू