कांग्रेस-एमाले मिलनले जनतामा विश्वास जगाएको दाबी
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पछिल्लो समय आर्थिक, सामाजिक र राजनीतिक रुपले देशमा विश्वसनीय वातावरण सिर्जना भएको दाबी गरेका छन् ।
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज काठमाडौँमा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । दुई ठूला राजनीतिक दलको संयुक्त सरकारलाई नागरिकले विश्वासका साथ लिइरहेको मन्त्री खड्काको भनाई छ ।
मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने जिकिर गरेका उनले ढुक्क भएर लगानी बढाउन निजि क्षेत्रलाई आह्वान गरे । आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी सरकारसामु रहेको र त्यसनिम्ति राजनीतिक स्थायित्व चाहिने भएकाले ठूला दल मिलेको मन्त्री खड्काले बताए ।
'अहिले यो दुई ठूला दलहरुसमेतको सरकार निर्माण भएको छ । यो स्थायी सरकार हो । आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने अवस्था छ । सामाजिक, राजनीतिक हिसावले विश्वसनीय वातावरण सिर्जना भइसकेको छ । अब आउने र निर्माण हुने कानूनहरुले यथेष्ठ सहयोग पुग्नेछ ’, उनले भने ।
त्यसक्रममा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने लक्ष्य सुनाए । सरकारको यो लक्ष्य पूरा गर्न निजी क्षेत्रले साथ दिनुपर्ने उनको मत छ ।
‘अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरुले यहाँ धेरै कुरा देखेँ', उनले भने, 'ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरुको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरुले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ ।'
यस्ता मेलाले विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने मन्त्री खड्काको विश्वास छ ।
टिप्पणीहरू