सम्हालिएर बोल्न मन्त्रीलाई निर्देशन

सम्हालिएर बोल्न मन्त्रीलाई निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन,रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न निर्देशन दिएको छ । हिजो बसेको समितिको ५३ औं बैठकमा सहभागी सांसदहरुले सार्वजनिक अभिव्यक्तिमा संयमित हुन सहकारीमन्त्री बलराम अधिकारीलाई निर्देशन दिएका हुन् । 

समितिको निर्णय नम्बर २ मा थप भनिएको छ, ‘मन्त्रालयलाई सकारात्मक पहलकदमी लिँदै पीडितहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गरिएको छ ।’ बैठकले सहकारी मन्त्रालय र सम्बद्ध निकायका जिम्मेवारहरूसँग प्रतिवेदन केन्द्रित अन्तिम सुझाव अविलम्ब लिखित रूपमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

हिजोको बैठकमा मन्त्री अधिकारी, सचिव अर्जुन पोखरेल,सहकारी विभागका  रजिस्ट्रार पिताम्बर घिमिरे,समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण गौतम,सदस्य सचिव केशवप्रसाद पौडेल,राष्ट्रिय सहकारी विकास बोर्डका उपसचिव एवम् पूर्व सदस्यसचिव विष्णुप्रसाद पौडेल र मन्त्रालयको सहकारी शाखाका प्रमुख  रघुनाथ महतलाई बोलाइएको थियो ।

टिप्पणीहरू