पार्टी पंक्तिलाई जनविश्वविद्यालय पठाउन माओवादी नेताको प्रस्ताव
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी पुनःनिर्माण र संगठन विस्तारमा नेपालको मौसम र ऋतुलाई ध्यान दिनुपर्ने बताएका छन् । उदयपुरमा आजदेखि शुरु कोशी प्रदेश परामर्श समितिको बैठकमा ६ बुँदे फरक प्रस्ताव राख्दै उनले यस्तो धारणा राखेका हुन् ।
विचार निर्माणका लागि पार्टीले नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहीन ढंगले बुझ्नुपर्ने उनको लिखित प्रस्तावमा उल्लेख छ । चैत, वैशाख र जेठमा वसन्त अभियान अन्तर्गत सृजनाको काम गर्नुपर्छ । असार, साउन र भदौमा वर्षा अभियानअन्तर्गत बाढी, पहिरो, राहत, उद्धार, पुनःस्र्थापनाबारे जनसचेतनाको काम गर्न प्रस्ताव गरेका हुन् ।
त्यस्तै, असोज, कात्तिक र मंसिरमा शरद अभियान अन्तर्गत चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलामा दिनुपर्ने भनिएको छ । पुस, माघ र फागुनमा शिशिर अभियान अन्तर्गत पार्टीको वार्षिक कामसँगै हिमपात, शीतलहरबाट जोगिन सचेतना कार्यक्रम र न्यायो कपडा बाँड्नुपर्ने उनको भनाई छ ।
सांसद किरातीले राखेका ६ बुँदे फरक प्रस्ताव यस्तो छः
१. विचार निर्माणका लागि पहिलो काम :
क) सिङ्गै सङ्गठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौँ ।
ख) नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेसको संस्कृतिलाई मिहिन ढङ्गले बुझौँ ।
ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिङ्गो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।
(घ) प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा “प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद” को विकास गरौँ ।
२. विचार निर्माणका लागि दोस्रो काम ः
(क) आम पार्टी पंक्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔँ ।
(ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरू बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाऔँ ।
(ग) समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौँ ।
३. विचार निर्माणका लागि तेस्रो काम :
(क) विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौँ र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौँ ।
४. अन्तिम काम ः विचारको संश्लेषण गरौँ ।
(क) जनताबाट आएका ज्ञानहरू र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौँ । ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौँ अथवा चाहन्छौँ” र “पछि यति गर्नेछौँ” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौँ ।
५. स्थानीय तहः समाजवाद निर्माणको जगः
हाम्रो पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौँ । स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वतः प्रभावकारी हुन्छ साथै त्यहीँबाट नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ र जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ ।
६. सङ्गठन परिचालन ः समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्याउन सकिँदैन ।
नेपाली समाजले कतिपय मान्यताहरू भू–बनोट, वातावरण र ऋतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौँ
क ) वसन्त अभियान (चैत्र–वैशाख–जेष्ठ) भरि सृजनाको काम गर्ने ।
ख) वर्षा अभियान (असार–साउन–भदौ) विचार निर्माण सँगै श्रम गर्ने; बाढी, पहिरो, राहत, उद्धार, पुर्स्थापनाबारे जनसचेतनाका काम गर्ने ।
ग) शरद अभियान (असोज–कार्तिक–मङ्सिर) आन्तरिक तयारीसँगै चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदानप्रदान गर्ने ।
घ) शिशिर अभियान (पुस–माघ–फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शीतलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।
ङ) पार्टी कार्यकर्ता र नेताहरू संगठक मात्र नभएर निरन्तर विचार निर्माणको लागि अनुसन्धानकर्ताका रूपमा पनि विकास गराउनुपर्छ ।
च) पार्टीको आमनीति सापेक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने । यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र “माथि” बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन । अर्कोतिर, कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ नयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ नयाँ विषय सोच्नु बाध्य हुन्छ । परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।
छ) सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔँ । स्थानीय पार्टी परिचालन गरेर (विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी व्यापक सुधार ल्याऔँ । हाम्रा काम देखेर मानिसहरू आफै पार्टीप्रति आकर्षित होउन् । अब सदस्यता जबरजस्ती दिने होइन, आफै सदस्यता लिन आउनेखालको पार्टी बनाऔँ ।
टिप्पणीहरू