प्रेसिडेन्सियल डिबेटमा ट्रम्प आक्रामक, सर्वेक्षणमा कमला अगाडि

प्रेसिडेन्सियल डिबेटमा ट्रम्प आक्रामक, सर्वेक्षणमा कमला अगाडि
सुन्नुहोस्

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरिँदै आइएको छ- प्रेसिडेन्टियल डिबेट । जसबाट निर्वाचनको सम्भावित नतिजा तय हुने दावी गरिन्छ । 

गएराति सम्पन्न प्रेसिडेन्टियल डिबेटमा राष्ट्रपतिका उम्मेद्वारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिसले करिब ९० मिनेट बहस गरे । ट्रम्पले ४० र कमलाले ३५ मिनेट बाेल्ने माैका पाए । 

डेविड म्योर र लिन्सी डेविसले सहजीकरण गरेको कार्यक्रमलाई एबिसी न्युज र बिबिसीले प्रत्यक्ष प्रशारण गरेका थिए । कार्यक्रमको पुराना श्रृंखलामा भन्दा यसपटक केही संरचनागत सुधार पनि गरिएको थियो । जस्तो, पहिलेको श्रृंखलाहरुमा जस्तो यसपटक लाइभ अडियन्सलाई सहभागी गराइएन । वक्ताहरु ट्रम्प र कमलालाई कुनै नोट र डायरी राख्न अनुमति दिइएको थिएन । एकजना बोल्दै गर्दा अर्कोको माइक बन्द गरिएको थियो । 

कार्यक्रमको शुरुमै कमलाले ट्रम्पको पोडियमसम्म पुगेर हात मिलाइन् । र, त्यसपछि सुरु भयो डिबेट। 

त्यसक्रममा ट्रम्प र कमला दुबैले आफूलाई बलियो सावित गर्न एक-अर्कालाई आरोप-प्रत्यारोप गरे । कार्यक्रमको मध्यभागतिर ट्रम्प केही आक्रमक बनेका थिए । तर, पेशाले अधिवक्तासमेत रहेकी कमलाले मुस्कानसहित तर्कले खण्डन गरिन्। 

डिबेटका केही महत्वपूर्ण सवाल:

ट्रम्पले कमला राष्ट्रपति निर्वाचित भएमा इजारायलसहित छिमेकी देशहरुको अस्तित्व दुई वर्षमै खरानी हुने आरोप लगाए । ‘किनकि, कमलालाई इजरायलसँग घृणा छ’, उनले भने । 

कमलाले खण्डन गर्दै भनिन्, ‘त्यो सत्य होइन । ट्रम्प भ्रमको सिर्जना गर्न खोज्दैछन् । म इजरायलसहितका देशरुको सुरक्षाको बारेमा पहिल्यैदेखि गम्भीर छु । र, राष्ट्रपति बनेमा म उनीहरुको सुरक्षा अधिकारलाई थप बलियो बनाउनेछु ।’

कार्यक्रममा प्रस्तोताले दुई वक्तालाई सोधेका थिए, ‘तपाईहरु दुवैको पार्टी (डेमोक्रेटिक र रिपब्लिकन)ले  विवादित इमिग्रेसन (आप्रवासन)काे मुद्दामा के गर्छ ?’

कमलाले भनिन्, ‘अमेरिकामा जब आप्रवासनको नीतिमा विवाद शुरु भयो, त्यसको मुख्य जिम्मेवार नै ट्रम्प हुन् । किनकि, उनी यसअघि राष्ट्रपति रहँदै गर्दाखेरी नै यो समस्या सिर्जना भएको थियो । उनी अहिले आफैले सिर्जना गरेको समस्यालाई आफै समाधान गर्ने प्रतिबद्धता गर्दै राजनीतिक फन्डा गरिरहेका छन् । यो अमेरिकी जनताले बुझेका छन् । यद्यपि, म पनि यसमा सचेत छु । समस्या जसले सिर्जना गरे पनि म राष्ट्रपति भए भने कुनै प्रतिशोध राख्दैन । म त्यसलाई समाधान गर्छु।’

ट्रम्पले काउन्टर दिँदै भने, ‘उसो भए हाम्रो देशमा दैनिक हजारौँ अपराधीहरु भित्रिरहेका छन्, के उनीहरुको लागि खुल्ला छाडिदिने ? उनीहरुले अमेरिकाको कुकर र विरालो समेत बाँकी राख्दैनन् खाएर।’

कमलाले हाँस्दै भनिन्, ‘भनेपछि तपाई प्रवासीहरुले अमेरिकाको कुकुर बिरालो पनि सकाए भन्दै हुनुहुन्छ । यति सस्तो कुरा नगर्नुस् । मान्छेहरु हाँस्न सक्छन् । बरु तपाई राष्ट्रपति हुनुभयो भने पुटिन (रुसका राष्ट्रपति)ले किवको लन्चमा तपाईलाई खानेछन्।’ 

अर्को प्रसंगमा कमलाले राष्ट्रपति निर्वाचित भएमा रुस-युक्रेनबीचको युद्ध रोक्न आफूले महत्वपूर्ण कदम चाल्ने योजना सुनाइन् । त्यसमा ट्रम्पले थपे, ‘म अहिले बाइडेनको ठाउँमा राष्ट्रपति भइदिएको भए झन् त्यो युद्द नै हुँदैनथ्यो।’

कमलाले प्रतिजवाफ दिइन्, ‘थाहा छ, थाहा छ, तपाईले किम जोंग (उत्तर कोरिया)का बादशाहलाई लभ लेटर लेखेको।’

राष्ट्रपतिका दुई उम्मेदवारबीच डिबेट चल्दै गर्दा चर्चित तीन अन्तराष्ट्रिय मिडिया न्युयोर्क टाइम्स, सिएनएन र वासिंगटन पोस्टले अमेरिकी नागरिकमा सर्वेक्षण गरिरहेका थिए- कुन वक्ताको तर्कमा सहमत जनाइरहेका छन् !, त्यसका आधारमा कमलालाई डिबेटको विजेता घोषणा गरिएको छ ।

टिप्पणीहरू