मध्यरातको सहमति कार्यान्वयन भए देउवा ८० वर्षको उमेरमा प्रधानमन्त्री
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ७८औँ वर्षमा प्रवेश गर्नुभएको छ । उहाँको जन्मदिनमा आज विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति देउवालाई शुभकामना दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सभापति देउवालाई खादा लगाइदिँदै सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले देउवासँगको तस्बिर शेयर गर्दै भन्नु भएको छ, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’
२००३ साल भदौ २७ गते डडेलधुरामा जन्मनुभएका देउवाको विभिन्न कागजातमा भने जन्ममिति जेठ ३१ गते कायम छ । २०४८ को आमनिर्वाचनदेखि हालसम्म गृहजिल्लाबाट लगातार निर्वाचित हुँदै आउनुभएका उहाँ पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ ।
उहाँ २०५२ भदौ २७ गतेदेखि २०५३ फागुन २९ सम्म पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । पछिल्लो समय २०७८ असार २९ गतेदेखि २०७९ पुष ११ सम्म प्रधानमन्त्री बन्नुभयो । गत असार १७ गते मध्यरातमा काँग्रेस र एमालेबीच भएको सहमति कार्यान्यवयन भएमा देउवा ८० वर्षको उमेरमा छैठौँ पटक प्रधानमन्त्री बन्नुहुनेछ ।
टिप्पणीहरू