रविले मौखिक वचन दिइरहने,कुलमान लिखित मागिरहने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच दुई साताअघि भएको सहमति कार्यान्वयनमा असमझदारी देखिएको छ । संघीयता,धर्मनिरपेक्षता र समावेशिताका विषयमा लिखित सहमति हुनुपर्ने कुलमानको अडान कार्यान्वयन नभएकाले उज्यालो नेपालका नेता तथा कार्यकर्ताहरु सशंकित बनेका छन् ।
पार्टी सभापति रवि लामिछानेले मौखिक रूपमा सहमति जनाए पनि लिखित सम्झौतामा हस्ताक्षर गरिसकेका छैनन् । तर कुलमान समूहले संविधान, संघीय व्यवस्था र हालको निर्वाचन प्रणालीबारे स्पष्ट र लिखित प्रतिबद्धता माग गरिरहेका छन् ।
सोही विषयमा कुुरा गर्न हिजो बिहान कुलमान रविको निवास पुगेका थिए । मन्त्रीबाट राजीनामा दिइसकेका घिसिङलाई यसअघि सम्झौतामा दोस्रो वरीयतामा उपसभापति दिइएको थियो । तर, दोस्रोमा वरिष्ठ नेताको हैसियत बालेन साहलाई राखिएको छ ।
कुलमानहरुले केन्द्रीय समितिमा सम्मानजनक हिस्सेदारी, समानुपातिक सूची संशोधन तथा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारीका विषयमा प्याकेजमै सहमति हुनुपर्ने अडान राखेको बुझिएको छ । त्यसैगरी सहमहामन्त्री र सहप्रवक्ता दिने सहमति पनि थियो । अहिलेसम्म उक्त सहमति कार्यान्वयन नभएपछि उज्यालो नेपालका नेता तथा कार्यकर्ता सशंकित देखिएका हुन् ।
यसअघि समानुपातिक बन्द सूचीका लागि उज्यालोका १८ जनाको नाम कटौती गर्दै केहीलाई मात्रै अगाडि राखिएकोमा चर्को विरोध कायम छ ।
टिप्पणीहरू