रेडपाण्डा दिवसमा ४८ किलोमीटर दौड

रेडपाण्डा दिवसमा ४८ किलोमीटर दौड

कमल भट्टराई

ताप्लेजुङमा १४ औं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा संरक्षणमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा फुङलिङको तोक्मेडाँडादेखि पाथीभरा मन्दिरसम्म रेडपाण्डा म्याराथन २०२४ सम्पन्न गरिएको छ ।

४८ किलोमिटर लामो दौडमा १६ जना महिला र ४२ जना पुरुषले भाग लिएका थिए । यस पटक महिला र पुरुष दुबैलाई पाथीभरा मन्दिरसम्म दौडाइएको थियो । तोक्मेडाँडाबाट दौडेर पाथीभरा मन्दिर हुँदै पुनः तोक्मेडाँडा आउनेमध्ये प्रथम भएकालाई एक लाख नगद पुरस्कार दिइएको छ । पाँचथरका विशाल राई महिला र पुरुष दुबैतर्फ पहिलो भएका हुन् । उनले ४ घण्टा १६ मिनेटमा दुरी पार गरेका थिए ।

पुरुषतर्फ बझाङका करण रावल प्रथम भएका छन् । उनले ४ घण्टा १७ मिनेटमा दौड सम्पन्न गरेका हुन् । दोस्रोमा ताप्लेजुङका रमेश लिम्बूले ४ घण्टा २६ मिनेटमा र तेस्रो भएका सोलुखुम्बूका अर्जुन कुलुङ राईले ४ घण्टा ३१ मिनेटमा दौड पूरा गरेका छन् ।

महिलातर्फ ताप्लेजुङका कुमारी गुरुङ ६ घण्टा १२ मिनेट २० सेकेण्ड, ६ घण्टा २९ मिनेट ६ सेकेण्डमा ओखलढुङ्गाकी लाक्पानिमा शेर्पा र दासाङ्की शेर्पा ६ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । पुरुष र महिलातर्फ प्रथमले जनही ५० हजार नगद, दोस्रो भएकाले ३० हजार नगद र तेस्रोले २० हजार नगद र प्रमाण पत्र पाएका छन् ।

कार्यक्रममा रेडपाण्डा करिडोर क्षेत्र ताप्लेजुङ, पाँचथर र इलामका लागि पनि पहिलो दोस्रो र तेस्रो पुरस्कार राखिएको थियो । ती पुरस्कारमा प्रथम राजन मेन्याङ्बो पाँचथर, दोस्रो भएका सञ्च बहादुर शेर्पा ताप्लेजुङ र तेस्रो भएका ताप्लेजुङका दीपक राईलाई क्रमश १५,१० र ५ हजार पुरस्कार दिइएको छ ।

जैविक विविधता संरक्षण, पर्यटन विकास र आय आर्जनसँग जोड्दै देश विकासमा सहयोग गर्ने उद्देश्यले दौड आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रममा जिसस प्रमुख छिरिङ लामा प्रमुख अतिथि, फुङ्लिङ नगरपालिका मेयर अमिर मादेन विशिष्ट अतिथि र रेडपाण्डा नेटवर्कका कन्ट्री मेनेजर आङ्फुरीशेर्पाको उपस्थिति थियो।

टिप्पणीहरू