कमरेड, यस्तै हुन्छ उच्च नैतिक चरित्र !

‘राजनीति गर्ने हो भने इमान्दारीसाथ गर्नुपर्‍यो, मोजमस्ती गर्ने भए पार्टी छोडेर गए हुन्छ’, भदौ १८ गते च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पोलिटब्यूरो बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसरी कड्किनुभयो।

आफूनिकट एकपछि अर्को नेता साँस्कृतिक विचलनमा परेपछि मुखै खोलेर तीतो पोख्नुभएका उहाँले अघिल्ला बैठकहरूमा पनि पत्नी कुट्ने, लुट्ने र पैसा उठाएर खानेहरूलाई पार्टीमा ठाउँ नरहेको प्रष्ट सन्देश दिने गर्नुभएको थियो । 

कम्युनिष्ट पार्टीमा सांस्कृतिक स्खलनलाई सामान्य विषय मानिंदैन । विद्यमान कानुन, सामाजिक मूल्य मान्यता र नैतिक सीमाबाहिर गएर अनैतिक क्रियाकलाप गर्नेमाथि कडा कारवाही गर्ने परम्परा रहिआएको छ । तर, देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीमा भने पछिल्लो समय थुप्रै प्रभावशाली नेता अनैतिक गतिविधिमा संलग्न रहेको घटना लगातार सार्वजनिक भैरहेको छ । थेग्नै नसक्ने तहमा सांस्कृतिक अराजकता बढ्न थालेपछि एमालेले पाँच बुँदे आचारसंहितासमेत जारी गरेको छ । महासचिव शंकर पोखरेलले ल्याएको एक वर्षे कार्य योजनामा आचारसंहिता बनाएर त्यसको कार्यान्वयन गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको हो ।

त्यसो त मुख्यतः अध्यक्ष ओली निकटहरू नै अनैतिक गतिविधिमा संलग्न रहेको पाइन्छ । पोलिटब्युरो सदस्य तथा भक्तपुरका नेता महेश बस्नेत, अनेरास्ववियूका पूर्वअध्यक्ष तथा बझाङका नेता ऐन महर, कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह, कर्णालीकै अर्का नेता तथा सांसद मोहन बानियाँ हुँदै पछिल्लो पटक प्रतिनिधिसभाकी सचेतक सुनिता बराल विभिन्न काण्डमा मुछिएका छन् । उनीहरू सबै ‘आई लभ यु केपी बा’ भनेर सडकमा नारा लगाउनेहरू नै हुन् ।

अध्यक्ष ओलीलाई एस्कर्टिङमा हिँडाउनेदेखि ‘आई लभ यु बा’ भनाउने महेशमाथि धादिङकी एक महिलासँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेको थियो । उनीविरुद्ध ती महिलाले एमाले केन्द्रीय कार्यालय र प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । हालै अदालतबाट चोखिएका उनीमथि कारवाही गर्नुपर्ने आवाज एमालेमा चर्कोसँग उठेपनि अध्यक्ष ओलीले नचाहेका कारण सम्भव भएन । त्यस्तै, केटीकाण्ड लागेका ऐनविरुद्ध पनि पीडित भनिएकी युवती हारगुहार गर्दै पार्टी, प्रहरी र अदालतसम्म पुगिन् । तर, केही समयका लागि केन्द्रीय सदस्य पद निलम्बनमा पर्नुबाहेक कुनै कारवाही भएन । अघिल्लोचोटी ओली प्रधानमन्त्री भएका बेला मन्त्री बनेका मोहनलाई पनि अर्काकी श्रीमती ताकेको आरोप लाग्यो । त्यसपछि केही समय गुपचुप रहेका उनी अहिले निस्फिक्री हिँडिरहेका छन् । कर्णाली प्रदेश अध्यक्ष गुलाबजंगमाथि पनि त्यस्तै आरोप लागिरहेको छ । 

मोजमस्ती गर्नेलाई पार्टीमा ठाउँ नदिने भनी अध्यक्षले चेतावनी दिएको हप्ता दिन नहुँदै र महासचिवले जारी गरेको अचारसंहिता हातमा नपर्दै सुनिता बरालको अमर्यादित फोटो टिकटकमा भाइरल भएपछि एमालेपंक्तिमा अर्को तरंग आएको छ । ‘बिनी डट कार्की जिरो’ टिकटक आइडीमा पोष्ट गरिएको फोटोमा उनी एक पुरुष (सम्भवतः प्रेमी) सँग चुम्बन र आलिंगनमा लिप्त रहेको देखिन्छ । सिंगापुरको लि क्वानयु युनिभर्सिटीमा पढेका उनी हाल अमेरिकामा रहेको र विवाहित रहेको बुझिएको छ । अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बराल भने अविवाहित हुन् । 

एकातिर मोजमस्ती गर्ने भए पार्टीमा नबस भनेर अध्यक्षले आदेश दिइरहने अर्कातिर उहाँले बोकेका पात्रहरू नै अनेक काण्डमा जोडिने ! यसअघि अनैतिक क्रियाकलापमा संलग्नहरूलाई विधानबमोजिम कारवाही नगरेका कारण यस्ता घटना दोहोरिने गरेको एक जना केन्द्रीय पदाधिकारीले गुनासो पोखे । 

महेश र ऐनजस्तै सुनिता पनि अध्यक्ष ओलीको चाहनाअनुसार एकैचोटी ‘कक्षा उकालिएकी’ पात्र हुन् । कम्युनिष्ट आन्दोलनमा लगेर कपाल फुलाएका कयौँ नेता जिम्मेवारीविहीन रहँदा उनलाई भने पदको खातैखात छ । अनेरास्ववियुबाट बाहिरिएलगत्तै केन्द्रीय सदस्य र सांसद बनाइयो । थुप्रै सिनियरलाई पन्छाएर प्रतिनिधिसभामा सचेतक बनाइयो । देशभित्र अन्तरपार्टी भेटघाटदेखि अन्तर्राष्ट्रिय कार्यक्रममा पनि उनैलाई मौका मिलिरहेको छ । हालै चीन भ्रमण गरेकी उनी केही समयअघि अमेरिका पनि गएकी थिइन् । 

यसरी एकपछि अर्को अवसर पाइरहने सुनिता कार्यकर्ताद्वारा प्रत्यक्ष चुनिएर केन्द्रीय सदस्य भएकी हैनन् । उनी अनिर्वाचित (मनोनीत) केन्द्रीय सदस्य, अनिर्वाचित (समानुपातिक) सांसद र अध्यक्ष ओलीको एकल निर्णयबाट दलको सचेतक बनेकी हुन् । अध्यक्षको गृहजिल्ला झापाकी उनले ‘मिसन ग्रासरुट’ अभियानमा पाइलोसमेत नसारेको गुनासो एमालेमा सुनिन्छ । ‘सुनसरी जिल्लामा जिम्मा थियो तर गइनन्,’ उनै पदाधिकारी भन्छन् । 

अध्यक्षको बोली नै अन्तिम निर्णय हुने अवस्था विद्यमान रहेकाले शंकरको पछिल्लो सर्कुलरले कुनै अर्थ नराख्ने ती नेताको दाबी छ । ‘कसैलाई थेग्नै नसक्नेगरी पदको भारी, कोही जिम्मेवारीविहीन अनि कुन मोरालिटीले अरुले काम गर्छन् ?’ चिन्ता जनाउँदै ती पदाधिकारी भन्छन्, ‘एकातिर साँस्कृतिक विचलनमा परेकाहरूलाई पार्टीमा ठाउँ छैन भन्ने, अर्कोतिर यस्ता मान्छेलाई प्रमोशन पनि गरिरहने कुरा हाँस्यास्पद भएन र !’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू