कम्युनिष्टमा मनोनीतलाई इञ्चार्ज

कम्युनिष्टमा मनोनीतलाई इञ्चार्ज

महासचिव शंकर पोखरेलको जोडबलमा एमाले रूपन्देहीको अध्यक्ष बनेका यज्ञ गैरे जिल्ला पार्टी सञ्चालनमा असफल बन्दै गएका छन् । अधिवेशनअघि पोखरेल र अध्यक्ष बनिसकेपछि विष्णु पौडेलसँग नजिक बनेका उनले चार महिनामा एकपटक बैठक बसाले, निर्वाचन क्षेत्रस्तरीय इञ्चार्ज र विभाग प्रमुख मनोनीत गरे तर निकै विवाद भएपछि अहिलेसम्म बैठकका निर्णय सार्वजनिक गर्न सकेका छैनन् ।

जेठमा अध्यक्ष निर्वाचित भएपछि भदौ ८ मा पहिलो बैठक बुटवलमा बसेको थियो । बैठकले क्षेत्र नं. १ मा बेद गिरी, २ मा ऋषि पाण्डे, ३ मा नरबहादुर घर्तीलाई इञ्चार्ज बनायो । यी तीनै जना अधिवेशनबाट निर्वाचित नभएका नेता हुन् । बैठकबाट क्षेत्रीय इञ्चार्जको जिम्मेवारी दिने निर्णय भयो । यससम्बन्धी अन्तरपार्टी निर्देशन र प्रेस विज्ञप्ति जारी नहुँदै ब्यापक विरोध भएपछि कुनै पनि निर्णय सार्वजनिक भएको छैन । बिशेष निर्देशनको नाममा जारी एउटा सर्कुलरमा वडा र नगर अधिवेशन सम्पन्न गर्ने अवधि भने तोकिएको छ । सर्कुलर आउनुअघि नै आधाजसो अधिवेशन भैसकेका थिए । 

क्षेत्र नं. ४ र ५ मा इञ्चार्ज तोकिएका मुस्लिम खाँ र खड्गबहादुर कुँवर भने निर्वाचित सदस्य हुन् । बैठकले युवा, विद्यार्थी, किसानलगायत जनवर्गीय संगठनमा इञ्चार्ज तोकेको भए पनि विवादका कारण नाम सार्वजनिक भएको छैन । 

अधिवेशनमा महासचिवका उम्मेदवार थिए गैरे । उपाध्यक्ष विष्णु पौडेलले निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलाई नै निरन्तरता दिन चाहे तर अन्तिममा गैरेलाई कान समातेर उठबस गराएपछि अध्यक्ष बनाउन निर्देशन दिए । अध्यक्ष बनाउन मरिमेटेर लागेका राजेन्द्र ढकाललाई बाइपास गरेका कारण जिल्लाकै सबैभन्दा ठूलो र कार्यकर्ता बढी भएको बुटवल उपमहानगर–११ को अधिवेशन विवादित बनेर स्थगित भएको छ । नेतृत्वको यस्तै रवैया भए मिशन ८४ रूपन्देहीमा कठिन हुने देखिन्छ । गैरेले परम्परा तोड्दै कार्यकर्ताको लेबीबाट जथाभावी खर्च गर्न थालेपछि कोष रित्तिँदै छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू