घर पुरिएको २४ घण्टामा पनि पुगेन उद्धार टोली, एकै परिवारका ३ जनाको निधन

घर पुरिएको २४ घण्टामा पनि पुगेन उद्धार टोली, एकै परिवारका ३ जनाको निधन

घरमाथि पहिरो खस्दा सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

लिसङ्खुपाखर गाउँपालिका-३ गुरुङमाराङ टोलकी २६ वर्षीय तृसना मोक्तानसहित उनका दुई नाबालक छोराछोरी पहिरोमा पुरिएर बितेका हुन् । पहिरो खसेको २४ घण्टासम्म उद्धार टोली नपुगेपछि स्थानीयको प्रयासमा उनीहरुको शव निकालिएको बताइएको छ । 

हिजो बिहान खसेको पहिरोले मोक्तानको घर पुरेको थियो । लगत्तै स्थानीयले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । तर, राज्यका तर्फबाट कोही पनि नगएपछि स्थानीय आफैँ उद्धारमा खटिएकोमा हिजो बेलुका एउटा शव निकालिएको थियो। 

आज बिहान तृसना र छोरीको शव भेटिएको स्थानीय उत्तर बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पनि प्रहरी पुगेको छैन । 

तृसना चौरीदेउराली गाउपालिका-१, को श्री तार लामो आधारभूत विद्यालयको शिक्षिकासमेत हुन् ।

टिप्पणीहरू