रवि र राष्ट्रपतिका सल्लाहकार एउटै

रवि र राष्ट्रपतिका सल्लाहकार एउटै

२०८० माघ २४ गते पूर्व नायव महानिरीक्षक छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा हान्यो । उक्त घर सहकारी ठगी प्रकरणका मुख्य नाइके जिबी राई (गितेन्द्रबाबु) र तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक तथा ग्यालेक्सी फोर के टेलिभिजनका सिइओ रवि लामिछानेको प्रमुख सम्पर्क कार्यालय जस्तो थियो, जहाँबाट प्रहरीले सहकारीको ४ वटा सर्भर फेला पार्‍यो ।

नेचर हर्ब इन्टरनेशनल प्रालि जिबी, छवि र रवि समूहको नेटवर्किङ व्यवसाय गर्ने कम्पनी हो । सर्वोच्चले २०६८ चैत १५ मा नेटवर्क मार्केटिङ व्यवसायमा बन्देज लगाउने सरकारी निर्णय कानुनसम्मत भएको फैसला सुनायो । तर नेचर हर्बका सञ्चालकहरुको चलखेलपछि वस्तु तथा सेवा प्रत्यक्ष बिक्री दिने गरी इजाजत दिन थालियो । यसको प्रमुख मध्यस्थकर्ता अथवा कामकुरो मिलाउने पात्र थिए– वरिष्ठ अधिवक्ता बाबुराम कुँवर । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदाका महान्यायाधिवक्ता कुँवर गण्डकीका पूर्वप्रदेश प्रमुख पनि हुन् । हाल आइजिपी बसन्तका साख्खै दाइ उनै बाबुरामले सर्वसाधारण व्यापक रूपमा ठगिएपछि प्रतिबन्ध लगाइएको उक्त व्यवसायलाई वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न थालेका थिए । कारण थियो– उनी नेचर हब इन्टरनेशनल प्रालिका कानुनी सल्लाहकार हुनु । कुँवरले नेचर हबबाट मासिक एक लाख तलब लिन्थे । उनै कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलको कानुनी सल्लाहकार छन् । उनी २०७७ जेठ १४ गतेदेखि जिबी राई फरार हुनुअघि २०८० असारसम्म सल्लाहकार पदमै थिए । 

स्रोतका अनुसार कुँवरले जिबी राई बेपत्ता हुनुअघि २०८० सम्म रवि, जिबी र छवि समूहसँगै शंखमुलस्थित घर र नयाँ बानेश्वरस्थित उनीहरुकै रेष्टुरेण्टमा दैनिकजसो बैठक राख्ने गरेका थिए । अहिले जिबी फरार छन् । छवि पोखराको प्रहरी हिरासतमा । रवि पक्राउ पर्ने त्रासका साथ बसिरहेका छन् । तर उनीहरुलाई कानुनी सल्लाह दिने बाँबुराम कुँवर भने राष्ट्रपतिको कानुनी सल्लाहकारको रुपमा शीतल निवासमा कार्यरत छन् । गलत कानुनी सल्लाह दिने उनीविरुद्ध पटक पटक उजुरी दिने प्रयास भए पनि प्रहरी र शीतल निवासले उनलाई बचाइरहेको स्रोतको दाबी छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू