कीर्तिपुरमा आज पनि हानाहान
पार्टीको निर्देशनमा उमेर हदसम्बन्धी निर्वाचन कार्यक्रम स्थगित गरिएपछि नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा फेरि कुर्सी हानाहान भएको छ ।
विद्यार्थी संगठनमा उमेर हद राख्ने कि न राख्ने भन्ने विवादले सम्मेलन लम्बिएपछि आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भोलिसम्मका लागि निर्वाचन कार्यक्रम रोक्ने निर्णय गरेको थियो । पार्टी केन्द्रको उक्त निर्णयको विरोधमा दिउँसो विद्यार्थीहरु बन्दसत्र हलमा होहल्ला र नाराबाजी गर्दै तोडफोडमा उत्रिएका हुन् ।
क्रान्तिकारीका एक नेताले दिएको जानकारीअनुसार संगठनको केन्द्रीय समितिले ‘बन्दसत्र स्थगित’ को सूचना टाँसेलगत्तै केही प्रतिनिधि कुर्सी हानाहान र तोडफोडमा उत्रिएका थिए । कुटाकुटकै अवस्था निम्तिएपछि प्रहरी बोलाइएको र अहिले अवस्था सामान्य रहेको बताइएको छ ।
कीर्तिपुरस्थित त्रिविको स्मृति हलमा असोज १० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गरेको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन १० गते समापन गर्ने कार्यतालिका थियो । तर, उमेर हद राख्ने कि नराख्ने वा कति वर्ष राख्ने भन्ने विवादमा प्रतिनिधिहरु विभाजित हुँदा बन्द सत्र प्रभावित भएको छ ।
यहि विवादले यसअघि पनि सम्मेलनस्थलमा पटक–पटक हानाहान र तोडफोड भैसकेको छ। विवाद चर्कंदै गएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा उमेर हदबारे मतदानबाट निर्णय लिने तयारी भए पनि आज एकाएक चुनावी कार्यक्रम रोकिएको हो ।
टिप्पणीहरू