वरिष्ठ बनाएर श्रीमानमा लाने तयारी

वरिष्ठ बनाएर श्रीमानमा लाने तयारी
सुन्नुहोस्

गत बिहीबार भावी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संयोजकत्वमा गठित सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको समितिले सिफारिस गरेका १६२ जनामध्ये ३ जनाको नाम छाँटेर १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ ।

वरिष्ठको उपाधि पाउने चर्चित नामहरूमा पूर्व महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, बार एशोसिएसनका पूर्वमहासचिव खम्मबहादुर खातीलगायत छन् । छाँटिएका एक अधिवक्तामा बारा जिल्लाका अरुण ज्ञवाली पनि छन् । उनी बारा जिल्लाबाट स्वतन्त्र भई प्रतिनिधि सभाको निर्वाचन लडेर पराजित भएका थिए भने अर्का तुलबहादुर श्रेष्ठ हुन् । यीमध्ये केहीविरुद्ध बार काउन्सिलमा उजुरी तथा मुद्दा परेको थियो । 

अधिवक्ताहरूले वरिष्ठको उपाधि पाएपछि सर्वोच्च अदालतको न्यायाधीश हुने बाटो खुले पनि उच्चको बाटो भने बन्द हुने गर्छ । २०७४ सालमा गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश हुँदा २७२ जनालाई वरिष्ठ उपाधि दिएको ७ वर्षपछि यो पालो आएको हो । त्यसबखत मनोमानी ढंगले उपाधि दिएको भन्दै चर्को आलोचना भएपछि २०७७ सालमा मापदण्ड बनाइएको थियो । मापदण्ड बनाएपछिको पहिलो उपाधि हो । 

वरिष्ठ अधिवक्ताको उपाधि पाएका व्यक्तिहरूको राजनीतिक आस्था र पृष्ठभूमि हेर्दा वामपन्थी पृष्ठभूमिका धेरै न्यायाधीश प्रधानन्यायाधीश हुने भएकाले कम उमेरका कांग्रेस निकट कानुन व्यवसायी छनोट गर्नेतर्फ नेताहरू सचेत रहेको दाबी गरिएको छ । त्यसैकारण भर्खरै वरिष्ठ पाएका आशिष अधिकारी र सुर्खेतका अरुण पौडेलमध्ये एक जनालाई सर्वोच्च लाने मनशाय नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालगायतले राखेको दाबी स्रोतको छ ।

चर्चा भने बारका पूर्व महासचिव तथा ल क्याम्पसका प्राध्यापक डा. विजय मिश्र र एमाले समर्थक पूर्वउपाध्यक्ष ईश्वरी भट्टराईको पनि  छ । त्यसैले केही दिनअघि सर्वोच्च अदालतमा उच्चका न्यायाधीशहरूको तर्फबाट नृपध्वज निरौलासहित दुई जनाको सिफारिश भए पनि वकिलहरूबाट कसैलाई लाने काम भएन । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू