प्रमको नाडीमा करोडौंको घडी, देशभर बाढी

प्रमको नाडीमा करोडौंको घडी, देशभर बाढी

दुई वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा निजी सम्पत्ति बेचेर खर्च गर्न नसकिने बताउनुभएको थियो । भक्तपुरको बालकोटस्थित दुई वटा घरदेखि सबै श्रीसम्पत्ति श्रीमती राधिका शाक्यका नाममा रहेको र आफूहरूको शेषपछि ती अचल सम्पत्ति राज्यको नाममा हुने लिखत गरिसकेको पनि बताउनुभएकै हो । त्यसैले सम्पत्ति बेचेर उपचार गर्नसक्ने अवस्थामा आफू नरहेको भनी पार्टीनिकट युवा संघको कार्यक्रममा उल्लेख गर्नुभयो । उहाँले त्यसबेला भन्नुभएको थियो, ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । मुलुकप्रति मेरो समर्पणका कारण आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति शेषपछि हुनेगरी राज्यलाई बुझाइसकेको छु । हाम्रो नामको घर जग्गामा हामी बाँचुञ्जेल बस्न भने सक्छौं । तर, मेरो उपचारको लागि ती घरजग्गा बेच्न सक्दैनौं त्यसैले पैसा नभएकाले तपाईंहरूले सहयोग गर्नुपर्ने हुन्छ । म यो मुलुकको प्रतिबद्ध नागरिक भएकाले राज्यलाई दिइसकेको घर सम्पत्ति बेचेर उपचार गर्न सक्दिन र चाहन्न पनि ।“

चौथो पटक प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले गत असारमा सम्पत्ति विवरण बुझाइसक्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइटमा उल्लेख छ । ती सम्पत्ति के के हुन् भन्नेबारे चाहिँ फ्ल्यास आउट गरिएको छैन । उपचारको लागि कौडीको सम्पत्ति नभएको र पर्दा अरुले सहयोग गर्नुपर्ने धारणा राख्ने एमाले अध्यक्षको बायाँ हातको नाडीमा भने अचेल विदेश जाँदा मात्रै होइन पार्टीका कार्यक्रममा सहभागी हुँदा पनि निकै आकर्षक घडी देखिन्छ । चश्माको फ्रेमसमेत उत्तिकै चम्किलो र आकर्षक छ । 

जनआस्थाले गरेको सोधखोजबाट प्रधानमन्त्री तथा ‘सर्वहारा’ अध्यक्षको नाडीमा बाँधिएको घडीको मूल्य अमेरिकी डलर २ लाख १५ हजार डलर रहेको बुझिन्छ । पातेक फिलिप नौटिलस (मुन फेज) ब्राण्डको उक्त स्वीस घडीको मूल्य हिजोको विनिमय दरअनुसार नेपाली २ करोड ८८ लाख ९१ हजार ७०० रुपैयाँ हुन आउँछ । उक्त कम्पनीको साहु फिलिप स्टर्नका पूर्व छोरी ज्वाइँ नक्साल गहनापोखरी निवासी विक्रम श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बाँध्नुभएको जेनेभा घडीको सिरिज ५१६०–५०० आर–००१ हो । हातैले कारिगरी गरेर बनाइने ग्राण्ड कम्प्लिकेसन्स सिल्भरीको ओपलाइन डायल ब्राउन लेदर स्ट्रिप घडीको मूल्य झण्डै तीन करोड पर्न आउँछ । र, यसको बार्षिक उत्पादन एकदमै थोरै हुने गर्छ । यो घडीको रोयल्टीबापत सन् २०१२ मा विक्रमले एक अर्ब रुपैयाँ बुझेका थिए ।

त्यस्तै, उहाँले लगाउने चश्माको फ्रेम ह्वाइट गोल्डबाट बनेको बताइन्छ । सेतो सुन भनिने महँगो धातुको उक्त फ्रेमको मूल्य ३० हजार युरो पर्न आउँछ । तर, उहाँले अरुलाई उपदेश दिँदा भने सँधै सादगी जीवनको उदाहरण दिने गरेको सुनिन्छ । 

उहाँलाई विभिन्न मुलुकका विश्वविद्यालयले प्रदान गरेका मानार्थ डक्टरेटको उपाधि र प्रमाणपत्रमा समेत कैफियत भएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको विषय हो । पार्टीभित्र पछिल्लो समय वामपन्थी राजनीतिको मूल्य र मान्यता नै थाहा नपाएका तर नखरा पार्न खप्पिस एकाध महिला कमरेडहरू उहाँसँग नजिक हुनु र अध्यक्षले त्यस्ता कमरेडलाई छानीछानी ‘रातारात’ प्रमोट गर्नुलाई पनि संयोगको रुपमा लिनुपर्ने किनारा लगाउन थालिएका पुराना नेताहरू बताउँछन् ।

मङ्गलवार सिंहदरबार दक्षिण गेट सामुन्ने नक्सा नै पास नगरी मेडिकल माफिया विशाल पण्डितले बनाएको बसेरा होटलमा डाकिएको एमाले सचिवालय बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हालैको आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउनुभयो । न्युयोर्कमा नेपाली समुदायसँग राखिएको छलफल शुरु हुनुअगावै कालोझण्डा देखाइएको भन्ने खबर र चर्चालाई उहाँले वास्तविकता त्यो होइन भन्नुभयो । प्रधानमन्त्रीको भनाई थियो, ‘त्यहाँ कसैले कालोझण्डा देखाएको पनि हैन । बेकारमा यता हल्ला मात्र गरिएछ ।’ सचिवालय र संसदीय दलको बैठकपछि उहाँ पार्टी मुख्यालयमा बाढीले पु¥र्याएको क्षति अवलोकन गर्न च्यासल पुग्नुभएको थियो ।

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू