तिहारपछि राष्ट्रिय राजनीतिमा फेरबदल आउने प्रचण्डको अनुमान

तिहारपछि राष्ट्रिय राजनीतिमा फेरबदल आउने प्रचण्डको अनुमान

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि राष्ट्रिय राजनीतिमा फेरबदल आउनसक्ने अनुमान गर्नुभएको छ ।

सरकारको गतिविधि र जनतामा थपिँदै गएको नैराश्यताले केही समयपछि नयाँ राजनीतिक वातावरण बन्ने उहाँको विश्लेषण छ । यद्यपि सरकार परिवर्तनमा आफूलाई कुनै दिलचस्वी नभएको प्रचण्डले स्पष्ट पार्नुभयो । 

‘अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ, केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ’, उहाँले भन्नुभयो, ‘तर सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन ।’

गलत तरिकाबाट बनेको सरकारको आयु धेरै लामो नहुने अध्यक्ष प्रचण्डको ठोकुवा छ । उहाँले सरकार आफै ढल्ने दाबी पनि गर्नुभयो । 

‘अहिले जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किने कामलाई नै पार्टीले उच्च प्राथमिकतामा राखेको छ', उहाँले भन्नुभयो, 'मैंले भनेको छु यो सरकार गलत तरिकाले, वडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा जनयुद्धपछि दशैँ आफ्नो प्राथमिकतामा नपरेको पनि बताउनुभयो । यद्यपि, परिवारको लागि दशैँ वातावरणमा आफू रमाउने गरेको उहाँको भनाई छ ।

टिप्पणीहरू