बडिमालिका दर्शन गर्न १० जनाको टोली लिएर राष्ट्रपति सुर्खेततर्फ

बडिमालिका दर्शन गर्न १० जनाको टोली लिएर राष्ट्रपति सुर्खेततर्फ

राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत जानुभएको छ । बाजुरा जिल्लाको प्रसिद्ध धार्मिकस्थल बडिमालिका माताको दर्शनका लागि उहाँ त्यता प्रस्थान गर्नुभएको हो । 

राष्ट्रपति पौडेलसहित १० जनाको टोली गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर बेसबाट सेनाको एनए-०६७ असस्ता हेलीमा अपराह्न सवा ३ बजे सुर्खेत उडेको बताइएको छ । टोलीमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिपुत्री सर्मिला खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे सहभागी छन् । 

त्यस्तै, राष्ट्रपतिका स्वकीय सचिव अवज्ञा पौडेल, सेनाको सुरक्षा तथा व्यवस्था प्रमुख सहायक रथी मनोज वैदवार, मुख्य सुरक्षा अधिकृत महासेनानी अच्युतम भण्डारी, राष्ट्रपतिका निजि चिकित्सक डा. निरज थापा, पार्श्ववती प्रमुख सेनानी बालमुकुन्द विष्ट र सुरक्षा अधिकृत सेनानी दिनेश न्यौपाने पनि टोलीमा छन् ।   

सोही टोलीका सदस्य प्रधानसेनापति अशोकराज सिग्देल भने एक घण्टापछि अर्को उडानमा सुर्खेत गएका छन् । उनी सेनाको स्काई ट्रकमा अपराह्न सवा चार बजे त्यता प्रस्थान गरेका हुन् । 

राष्ट्रपति पौडेलले भोलि बाजुराको बडिमालिका माताको दर्शनसंगै नाटेश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । कोजाग्रत पूर्णिमाको अवसरमा विहान नवदुर्गा भवानीको दर्शन गरी शीतल निवास फर्केलगत्तै राष्ट्रपति पौडेल सुर्खेत उड्नुभएको हो ।

टिप्पणीहरू