प्रहरीले रित्तो हात फर्काएपछि काठमाडौंका मेयरको दुःखेसो

प्रहरीले रित्तो हात फर्काएपछि काठमाडौंका मेयरको दुःखेसो

पशुपतिको धर्मशाला खालि गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली रित्तो हात फर्किएपछि मेयर बालेन्द्र (बालेन) साहले कवितामार्फत् दुःखेसो पोखेका छन् । 

धर्मशाला खालि गराउन गएको महानगर प्रहरी टोलीलाई नेपाल प्रहरीले रोकेकोप्रति इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा भावुक कविता पोष्ट गरेका हुन् । हिन्दुराष्ट्र संविधानमा नभई स्वाभिमानमा देखिनुपर्ने उनको कवितामा धर्मशाला खालि गराउन सरकारले सहयोग नगरेको आसय व्यक्त गरिएको छ ।  

यस्तो छ बालेनको कविता :

गाउँ मासेर बनेको शहरको के काम ?

आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ 

पशुपति क्षेत्र विकास कोषबाट धर्मशाला व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि मारवाडी सेवा समितिले अवरोध गर्दै आएको छ । असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरी टोलीलाई मारवाडी समुदायले रोकेको थियो । अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरले बोर्ड झुण्डायो ।

धर्मशालाबाट सामान हटाउन पुगेको महानगर प्रहरीलाई हिजो पनि मारवाडीहरुले अवरोध गरेका थिए । त्यसपछि महानगरले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै शान्ति सुरक्षा उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर, स्थानीय प्रशासनले सहयोग नगर्दा आज पनि धर्मशाला खालि हुन नसकेको महानगरको दाबी छ । 

पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर मारवाडी सेवा समितिले सस्तो भाडादरमा धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा २१ वर्षदेखि भोगचलन गर्दै आएको थियो । २०८० साउन १७ गते कोषले उक्त सम्झौता खारेज गरेपछि विवाद शुरु भएको हो ।

त्यसविरुद्ध मारवाडीहरुले काठमाडौँ जिल्ला अदालतमा रिटसमेत हालेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला छाड्न मानेका छैनन् ।

यता, मारवाडी सेवा समितिले हडपेको धर्मशालाको जग्गा जसरी पनि आफ्नो जिम्मामा ल्याउने अडानमा रहेका बालेनले यसअघि पनि सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । नाजायज सम्बन्धबाट सम्झौता गरि धर्मशालाको नाममा जग्गा कब्जा गरेका मारवाडीहरुलाई सरकारले उल्टै संरक्षण गरेको उनको दाबी छ । 

‘आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ’, मेयर बालेनले भनेका छन्, ‘अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।’

टिप्पणीहरू