प्रधानमन्त्री ओलीलाई कारवाही गराउन कस्सिए युवराज

प्रधानमन्त्री ओलीलाई कारवाही गराउन कस्सिए युवराज

सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका सिन्धुलीका युवराज सफल अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गराउन कस्सिएका छन् । 

व्यापारीसँग चन्दा लिएर एमालेले पार्टी कार्यालय निर्माण गर्न लागेको भन्दै उनले आज ओलीमाथि कारवाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका हुन् । सी-०२३६३० दर्ता नम्बर रहेको उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक अनुसन्धान गरी हदैसम्मको कारबाही माग गरिएको छ । 

भ्रष्टाचार निवारण ऐन २०५९ ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको उल्लेख गर्दै युवराजले प्रधानमन्त्रीबाट कानुन उल्लङ्घन भएकाले कारवाही हुनुपर्ने जिकिर गरेका छन् । 

'विवादास्पद व्यापारी मीनबहादुर गुरुङमाथि विभिन्न मुद्दा मामिलाहरू राज्यका निकाय एवं अदालतमा रहेको र निजलाई जेलसमेत हाल्नपर्ने जरिवाना रकम असुल गर्नुपर्ने देखिएको र निजले जेल सजाय एवं जरिवाना रकम तिर्नबाट बच्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा ओत लिन पुगेको एवं निजले आफ्नो मुद्दा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनयविनय गरेको र त्यसरी मुद्दा मामिलाबाट जोगाइदिए जस्तोसुकै सहयोग गर्ने जेन्टलमेन्ट एग्रिमेन्टसमेत गरेका कारण मात्र सो मुद्दाबाट बचाइदिने प्रतिवद्धता सहित सो वापत प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले घुस वा कमिसन वापत सो जग्ग र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मीनबहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ', उजुरीमा भनिएको छ । 

गुरुङ र प्रधानमन्त्री ओली दुबैले भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद (२) को कसूर गरेकाले सो सम्बन्धी सजायको दफा (३) बमोजिम आठ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने उजुरकर्ताले माग गरेका छन् । साथै ऐनको दफा (५) र (६) बमोजिमको कारवाही पनि मागिएको छ । 

भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले एमालेको केन्द्रीय कार्यालयको निर्माणका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि यो विषय विवादमा छ । 'भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न' भन्दै सुशासनको चर्को भाषण गर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पत्नी राधिका शाक्य र गुरुङ दम्पत्तिसहित दशैँको महाअष्टमीको दिन कार्यालय भवनको शिलान्यास गरेका थिए । 

देशको प्रमुख र सरकारको नेतृत्व गरिरहेको पार्टीले व्यापारीसँग हात थापेर कार्यालय भवन बनाउन लागेपछि चौतर्फी आलोचना भैरहेको छ । एमालेकै कतिपय नेताहरुले समेत असन्तुष्टी जनाएका छन् ।

=
 

टिप्पणीहरू