चितवनमा प्रदर्शन, पोखरामा निषेधाज्ञा जारी

चितवनमा प्रदर्शन, पोखरामा निषेधाज्ञा जारी
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा हिजो लगाइएको निषेधाज्ञा जारी राखेको छ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको समर्थनमा नारा जुलुस हुने भएपछि प्रशासन कार्यालयले हिजोको निषेधाज्ञा जारी गरेको जनाएको छ ।

जिल्ला प्रशासनले स्थानीय शहीदचोक तथा गैह्रापाटन आसपासका क्षेत्रमा हिजो दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गरेको निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ भने धर्ना, अनसन, घेराउ र प्रदर्शन पनि गर्न नपाइने उल्लेख छ । 

तर रास्वपाका नेता–कार्यकर्ताले पोखरापछि आज चितवनमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले सहकारी पीडितलाई न्याय दे, माफियालाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावादलगायत चर्का नारा लगाएका छन् । रविको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

रविका समर्थकहरुले शनिबार दिउँसो काठमाडौंको माइतीघर र पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका थिए । हिजो पोखरामा गरिएको प्रदर्शनमा निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग घम्साघम्सी परेको थियो । आज पनि पृथ्वी चोकमा खबरदारी सभा राखेका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि काठमाडौंमा शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई हिजो जिल्ला अदालत कास्की पुर्याएर छ दिन म्याद थपिएको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध आजदेखि अनुसन्धान थालेको छ ।
 

टिप्पणीहरू