ट्रान्सपरेन्सी इन्टरनेशनल पनि एमालेको विरुद्धमा

ट्रान्सपरेन्सी इन्टरनेशनल पनि एमालेको विरुद्धमा

सरकार नेतृत्वकर्ता नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान लिएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्टरनेशनले विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको व्यक्तिबाटै जग्गा दानमा लिनुले भ्रष्टाचारको पक्षपोषण हुने बताएको छ । 

‘कानूनको पालना गरी सरकारी सम्पत्ति र हितको सम्बद्र्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्धन्द्ध हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने ठम्याई टीआई नेपालको रहेको छ ।’

सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकार वा पार्टीको नाममा कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्ने टीआईको ठहर छ । यसैले, सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम कारबाहीबाट अलग रहन उसले अपिल गरेको छ ।

टिप्पणीहरू