एमालेले दानमा लिएको जग्गाविरुद्ध मुद्दा दायर हुँदै

एमालेले दानमा लिएको जग्गाविरुद्ध मुद्दा दायर हुँदै
सुन्नुहोस्

भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विवादास्पद विषयले कानुनी बाटो समातेको छ । 

अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको दलले दान लिनु भ्रष्टाचारजन्य कसूर हुने जिकिरसहित परेको रिट सर्वोच्च अदालतले स्वीकार गरेसँगै यो प्रकरण कानुनी प्रक्रियामा अघि बढेको हो । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । 

रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको छ । अधिवक्ता ज्ञान बस्नेतले कात्तिक १ गते रिट निवेदन पेस गरेका थिए । 

भ्रष्टाचारमा दोषी ठहर भएका मीनबहादुर गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दान लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको जिकिर रिटमा गरिएको छ ।

गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा आधा अर्ब बढी मूल्य पर्ने जमिन दान गरेर पार्टी कार्यालय भवन पनि बनाइदिने घोषणा गरेका छन् । असोज २५ गते गुरुङलाई समेतउपस्थित गराई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास गरिसक्नुभएको छ ।

उक्त कार्य ‘गम्भीर भ्रष्टाचारजन्य अपराध, राज्यसत्ताको भयानक दुरुपयोग र नैतिक र कानुनी अपचलन’ भएको भन्दै जग्गा लेनदेन कार्यान्वयन नगर्न –नगराउन रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् ।

विवादित व्यवसायीबाट सरकारको नेतृत्व गरिरहेको दलले यति ठूलो दान लिएपछि सत्तारुढ नेपाली काँग्रेससहित प्रतिपक्ष दल र आमरुपमा पनि चर्को विरोध भइरहेको छ । एमालेभित्रै कतिपयले प्रश्न उठाएका छन् । तर, उनीहरुलाई सात दिने पुर्जी थमाएर स्पष्टीकरण सोधिएको छ ।

टिप्पणीहरू