ललितपुरलाई चीनको उपहार,सानेपामा सुलभ स्नानागार

ललितपुरलाई चीनको उपहार,सानेपामा सुलभ स्नानागार
सुन्नुहोस्

पछिल्लो समय सार्वजनिक स्थानहरुमा अत्याधुनिक सुविधा र प्रविधियुक्त सामुदायिक शौचालयहरु बनिरहेका छन् । यसले सर्वसाधारणलाई सहज त बनाएको छ नै,वातावरण संरक्षणमा पनि टेवा पुर्याएको छ । 

यसैबीच नेपालमै पहिलो पटक सौर्य उर्जाबाट चल्ने सामुदायिक स्नानघर सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका वडा नम्बर-३ स्थित ठाडोढुंगामा आजदेखि 'युनिक सोलार सावर स्टेशन' प्रयोगमा ल्याइएको हो । 

चीनको युन्नान कमर्सियल रिप्रिजेन्टटेटिभ अफिसमार्फत आर्थिक र युनिक सोलार नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त सामुदायिक बाथरुममा २४ घण्टा तातो पानीको सुविधा छ । सर्वसाधारणले आफ्नो समय अनुकूल त्यहाँ पुगेर नुहाउन सक्नेछन् । 

अहिले प्रतिव्यक्ति शुल्क रु. ८० कायम गरिएको छ । १० पटकसम्म सेवा लिएमा एकचोटी नि:शुल्क दिइने छ ।

त्यस्तै,मासिक,अर्धवार्षिक तथा वार्षिक ग्राहक बनेर पनि सहुलियत दरमा सुविधा लिन पाइनेछ । त्यसका लागि क्रमश: दुई हजार, पाँच हजार र आठ हजार शुल्क तोकिएको छ । 

सर्वसाधारणले स्टेशनमै साबुन, स्याम्पु,टावेल तथा टुथ ब्रश पाउनेछन् भने चिया,कफी तथा जुसको पनि व्यवस्था गरिएको छ ।

सर्वसाधारणले स्टेशनमै साबुन, स्याम्पु,टावेल तथा टुथ ब्रश पाउनेछन् भने चिया,कफी तथा जुसको पनि व्यवस्था गरिएको छ । 

वडाध्यक्ष श्री गोपाल महर्जनको अध्यक्षतामा सम्पन्न भएको सामुदायिक बाथरुम शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायतको विशेष उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै मेयर महर्जनले सोलार बाथरुम स्टेशनले महानगरवासीमा उत्साह ल्याएको बताउनुभयो । यसले महानगरको समृद्धि र विकासमा ठूलो सहयोग पुर्याउने उहाँको विश्वास छ । 

‘यो हेर्दा वा देख्दा सानो सहयोग होला,तर यसले हाम्रोलागि ठूलो अर्थ राख्छ’, मेयरले भन्नुभयो, ‘यो सुविधा र प्रविधियुक्त बाथरुम स्टेशनले महागरको समृद्धि,विकास र सरसफाईमा ठूलो सहयोग गरेको छ, गर्नेछ ।’ मेयर महर्जनले यो सहयोगले नपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाएको पनि बताउनुभयो । 

राजदूत छन सोङले पनि नेपालसँगको पुरानो मित्रता स्मरण गर्दै सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । स-साना सहयोग र आपसी समझदारीकै कारण नेपाल र चीन पौराणिक कालदेखि दाजुभाइजस्तो रहेको उहाँको कथन छ ।

 

‘मलाई थाहा छ,यो धेरै ठूलो प्रोजेक्ट होइन’,उहाँले भन्नुभयो, ‘तर यस्तै स-साना सहयोग र विश्वासले दुई देशको सुन्दर कथाहरु बनेका छन्, हामीबीचको सम्बन्ध एउटा परिवारको दाजुभाइभन्दा कम लाग्दैन ।’

राजदूत सोङले आफूहरुको सहयोगप्रति महानगरवासीले देखाएको उत्साहको लागि पनि खुशी व्यक्त गर्नुभयो । थप्नुभयो, ‘यहाँ आउनुअघि मेरो मन्तव्य लिखित रुपमा तयार थियो । तर, यहाँ आएपछि तपाईंहरुको उत्साह देखेर मलाई लिखित मन्तव्य हेर्न मन लागेन । मैले जे बोलेँ तपाईंहरुको उत्साह देख्दा स्वत: सिर्जना भएको अभिव्यक्ति हो ।’

त्यस्तै, युन्नान प्रतिनिधि याङले छिमेकी राष्ट्रहरुमा समृद्ध ग्रामीण परियोजनाअन्तर्गत उक्त सोलार बाथरुम निर्माण गरिएको जानकारी दिनुभयो । सहयोग गर्ने मौका दिएकोमा उहाँले महानगरप्रति आभार प्रकट गर्नुभयो । 

वडाध्यक्ष महर्जनलाई स्टेशन औपचारिकरुपमा हस्तान्तरण गर्दै भन्नुभयो, ‘यो यति सुन्दर शहर छ कि,शब्दमा बयानमा गर्न सक्दिनँ । यो शहरलाई सहयोग गर्न पाउँदा हामी हृदयदेखि गौरवान्वित छौँ ।’

वडाध्यक्ष महर्जनले सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू