महिला फुटबल फाइनलको टिकट बिक्री किन खुलेन ?

महिला फुटबल फाइनलको टिकट बिक्री किन खुलेन ?

नेपाल र बंगलादेशबीच भोलि साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुँदैछ । उपाधि भिडन्तका लागि हुने खेल हेर्न हजारौँ दर्शक दशरथ रंगाशाला पुग्ने पक्का छ । तर,अहिलेसम्म टिकट बिक्री खुला गरिएको छैन । 

आइतबार सम्पन्न सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी दर्शक प्रवेश गराइनुका साथै ब्ल्याकमा टिकट किनबेच भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) विवादमा परेको छ । सोही कारण अनलाइन टिकट बुकिङ खुला नगरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए । 

१५ हजार दर्शक क्षमता भएको रंगशालामा अस्ति १८ हजारलाई प्रवेश गराइएको थियो । अनलाइनबाट टिकट काटेकालाई छिर्न नदिएर ब्ल्याकमा टिकट बेचेको गुनासो पनि आएको थियो । क्षमताभन्दा बढी दर्शक भित्राएपछि टिकेटिङ पार्टनर माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिमाथि प्रश्न उठेको छ ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा उहाँविरुद्ध नाराबाजी हुँदा राम्रो सन्देश नजाने र भिआइपी सुरक्षा जोखिम विश्लेषण गरेर एन्फाले अनलाइन टिकट बिक्री नखुलाएको स्रोतले दाबी गरेको छ । 

तर, यससम्बन्धमा माउन्ट इभेन्ट्ससँग छलफल गरिरहेको जवाफ दिएर उम्किएको एन्फाले भोलिको खेलमा दर्शकले गेटमै पुगेर टिकट काट्नुपर्ने जनाएको छ । अनलाइन टिकट बुकिङ खुलाउने कि नखुलाउने भन्नेबारे छलफल भइरहेकोले साँझसम्म निर्णय हुने एन्फाका एक पदाधिकारीले बताए । 

‘अस्तिको खेल हुँदा टिकट बिक्रीमा भद्रगोल भयो भन्ने गुनासो आयो’, उनले भने, ‘अहिलेसम्म बुकिङ खुलाइसकेका छैनौँ, टिकट व्यवस्थापनसँग एन्फाले छलफल गर्दैछ ।’

तर, टिकट बुकिङ खुला नहुनुको कारण यो मात्र नभएको जानकार स्रोतले जनआस्थालाई बताएको छ । बताइएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले रंगाशालामै पुगेर खेल हेर्ने रहर गर्नुभएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक सडकमा ओर्लिएको अवस्था र युवाहरु सरकारसँग आक्रोशित रहेकाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ । 

प्रधानमन्त्री सहभागी कार्यक्रममा उहाँविरुद्ध नाराबाजी हुँदा राम्रो सन्देश नजाने र भिआइपी सुरक्षा जोखिम विश्लेषण गरेर एन्फाले अनलाइन टिकट बिक्री नखुलाएको स्रोतले दाबी गरेको छ । एन्फाका पदाधिकारीले भने प्रधानमन्त्री ओलीको सहभागिताबारे अनभिज्ञता प्रकट गर्दै भिआइपी सुरक्षा व्यवस्थापनलाई लिएर भने छलफल चलिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू