टेलिफोन संवाद सार्वजनिक गर्नेसङ्ग रास्वपा आगो

टेलिफोन संवाद सार्वजनिक गर्नेसङ्ग रास्वपा आगो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद उर्फ डिपी अर्यालले आफ्नो निजी टेलिफोन संवाद सार्वजनिक गर्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री,मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले कानुनी कारबाहीमा जाने चेतावनी दिएका हुन् । 

सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै उनले गलत मनशायले टेलिफोन संवाद सार्वजनिक गरेर आफ्नो वैयक्तिक गोपनीयतामाथि दख्खल पुर्याएको बताएका छन् । उनले लेखेका छन्,‘मैले मेरो निजी टेलिफोनबाट कोसँग,के–के संवाद गरेँ र गर्दै छु भन्ने सूचना प्राप्ति गर्नको लागि नियतवश नियोजित ढंगले गैरकानुनी र अनाधिकृत रुपले मेरो अनुमति र स्वीकृतिबेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयतामाथि दख्खल पुर्याएको हुँदा निजलाई कानुनबमोजिम कारबाही गरियोस् । कानुनी प्रक्रियामा जाने नै छु ।’

‘सभापतिको अनुपस्थितिमा पार्टीको नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो ।"

सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टीको नियमित काम गर्नु र राजनीतिक दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उनको जिकिर छ । आफ्नो जिम्मेवारी पुरा गर्दा एकपक्षीय ढंगबाट गलत मनशायले प्रचार गरिएको उनको भनाइ छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ । र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौं’,उनले भनेका छन्,‘सभापतिको अनुपस्थितिमा पार्टीको नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो । जिम्मेवारी पुरा गर्दा एक पक्षीय ढंगबाट गलत मनशायका साथ गरिएको प्रचारप्रति दुःखित छु ।’

गत कात्तिक २ गते पार्टी कार्यालयबाटै समातिएका सभापतिको पक्षमा रास्वपाका नेता–कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अर्याल र प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य वार्ता र काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा परराष्ट्र मन्त्री आरजू राणासङ्ग भेट्न समय मागेका थिए । उनीहरुले लुसुक्क प्रधानमन्त्री भेटेपछि रास्वपाभित्रै खैलाबैला मच्चिएको छ ।

टिप्पणीहरू