उनीहरु सिंहदरबार छिरे कसले रोक्ने होला ?
पार्टी बैठकमा प्रधानमन्त्रीको चर्को आक्रोश
मुख्य नेतृत्वमाथि चौतर्फी आक्रमण हुँदासमेत कार्यकर्ता प्रतिवादमा नउत्रिएको भनी पटक–पटक आक्रोश पोख्दै आउनुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि रोष प्रकट गर्नुभएको छ । कात्तिक ४ गते बसेको सचिवालय बैठकमा उहाँले रिसाउँदै भन्नुभयो– ‘जम्मैले मलाई गाली गरेको गर्यै छन् तर पार्टी नै सक्रिय छैन, एउटा पनि प्रतिवादमा उत्रँदैनन् ।’
सरकार र आफ्नो विरोध गर्नेहरुलाई प्रतिवाद नगरेकोमा पार्टी पंक्तिप्रति ओलीको चित्त दुःखाइ रहँदै आएको छ । यसअघि सचिवालय बैठकमै उहाँले युवा संघको नामै लिएर ‘पार्टीका भातृ संगठनहरु कामै नलाग्ने भैसके’ भन्दै नेतृत्वको बचाऊमा संगठित प्रतिरोध गर्न निर्देशन दिनुभएको थियो । एक लाख कार्यकर्ता सडकमा उतार्ने प्रस्तावसमेत राख्नुभएको थियो ।
भाटभटेनी जग्गा–दान प्रकरणमा तीन जना नेतामाथि स्पष्टीकरण सोध्न बसेको ४ गतेको बैठकमा पनि पुरानै कुरा दोहोर्याउँदै भन्नुभयो– ‘२०–३० हजार मान्छे जम्मा भएर सिंहदरबार छिरे भने रोक्ने कसले होला !’ कांग्रेसलाई समातेर चौथोपटक सत्तामा उक्लनुभएका ओलीले ‘हनिमुन पिरियड’ पूरा नहुँदै चर्को आलोचना खेपिरहनुभएको छ । विपक्षीहरुको औपचारिक विरोध मात्र होइन, सामाजिक सञ्जाल र सडकबाट नागरिकले चर्को आक्रोश पोखिरहेको छ ।
सरकारविरुद्ध दिनदिनै नारा लागिरहेका छन् । भारतले लगाएको नाकाबन्दीविरुद्ध लिएको अडान र चुच्चे नक्सा जारी गरेको एकलौटी जश लिएर अघिल्ला तीन कार्यकालमा खासै आलोचित नभएका उहाँविरुद्ध टुँडिखेलमा युवाहरूले ‘देश छोड’को नारासमेत लगाएका थिए ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू