जिबीबारे दुई सरकारबीच के भयो कुरा ?
सहकारी ठगी प्रकरणका फरार आरोपित जिबी राई नेपाल फर्कन चाहेको र सुरक्षाको प्रत्याभूति खोजेको चर्चा भैरहँदा सरकारले काठमाडौँस्थित मलेसियन दूतावाससँग छलफल अघि बढाएको छ । मलेसियामा लुकेर बसेका राईलाई नेपाल फर्काउने वातावरण बनाइदिन आग्रह गर्दै सरकारका तर्फबाट कार्यवाहक राजदूत वान जाफर वान महमुदसँग कुराकानी अघि बढेको हो ।
गत बिहीबार यसबारे सरोकार राखिएकोमा ‘माई सेकेण्ड होम स्किम’ भीसामा बसेका जिबीलाई फर्काउन कानुनी जटिलता रहेको जवाफ आएको सम्वद्ध स्रोतले जानकारी दिएको छ । उक्त भीसामा आश्रित विदेशीलाई आफ्नै नागरिकसरह व्यवहार गरिने भएकाले मलेसियाले समातेर सजिलै पठाउन नचाहेको हो । तर, भेटमा नेपाली पक्षले भने जिबीलाई पक्राउ गरेर नदिए यहाँ अड्किएका मलेसियन नागरिकको हकमा पनि कडा नीति लिन बाध्य हुने कुरा राखेको बुझिएको छ । जवाफमा मलेसियन चार्ज डे अफेयर्सले केही प्रक्रिया पूरा गर्नुपर्ने जनाउँदै त्यसपछि भने समस्या नरहेको बताएका थिए ।
नेपालीसँग बिबाह गरेकी र सम्बन्ध बिच्छेदपछि अलपत्र परेकी मेला भेलु नामक मलेसियन युवतीलाई स्वदेश फर्कन नेपालले सहजता प्रदान गरेको सन्दर्भ कोट्याउँदै जिबीको हकमा पनि मलेसियन सरकारबाट त्यस्तै अपेक्षा राखेको जानकारी पनि गराइएको बुझिएको छ ।
सन् २०१९ अगाडि यहाँ आएर नेपालीसँग बिबाह गरेकी ती युवतीको केही समयमै डिभोर्स भएको थियो । त्यसपछि यतै अड्किएकी उनलाई ओभरस्टेवापत २७ लाख जरिवानाको सजायँ सुनाइयो । दण्ड तिर्न नसकेर उनी जेल परिन् । तर, मानवीय सदाशयता र दुई देशबीचको सम्बन्धलाई हेरेर दण्ड नतिराई र पुरै कैद भुक्तानी नगराई सरकारले फास्टट्रयाकबाट स्वदेश पठाइदियो । यस्तै अप्ठेरोमा परेका अरु ७ जना मलेसियन नेपालमा रहेको र राजदूतलाई सोबारे जानकारी गराइएको स्रोतले बतायो ।
यसअघि किरण बज्राचार्य सिआइबी प्रमुख हुँदा चितवनमा गैँडा मारेको अभियोगका कारण भागेर मलेसिया पुगेका राजकुमार प्रजालाई प्रहरीले समातेर ल्याएको थियो । तर, उनी ‘सेकेण्ड होम’ भीसावाला नभएकाले त्यतिवेला अप्ठ्यारो नपरेको बताइन्छ ।
देशका मुख्य शहरमा सहकारी खोलेर अर्बौं रकम हिनामिना गरेको अभियोग जिबीमाथि छ । उक्त आरोपमा पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनलाई समात्न इन्टरपोल गुहारेको प्रहरीले एउटा टोली मलेसियासमेत पठाएको थियो । तर, कानुनी तथा प्रक्रियागत अप्ठेरो देखाउँदै मलेसियाले पक्राउ अनुमति नदिएपछि टोली रित्तो हात फर्किएको छ ।
पछिल्लो समय रवि लामिछाने पक्राउ परेसँगै जिबीले नेपाल आएर अनुसन्धानलाई सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको सन्देश भने सरकारलाई पठाइरहेका छन् । उनले निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनलाई ०७४ असोज २३ गते राजधानीमा गोली हानेर मार्ने समीरमानसिंह बस्न्यातलाई जस्तै ज्यानको सुरक्षा, सर्वश्वसहित जन्मकैद नहुने ज्ञारेन्टी र जग्गाजमिन धितो राखेर धरौटीमा छुट्न पाउने सुविधा खोजेको बुझिएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू