सागरलाई नियन्त्रणमा लिएपछि हाइसञ्चो
नेकपा माओवादीको नामबाट आतंक मच्चाउने समूहका प्रमुख नाइके काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका सिपालीनिवासी सागर भनिने रामकृष्ण मैनाली र उनका सहयोगी विजय हुमागाईंलाई भक्तपुरस्थित सूर्यविनायकबाट पक्राउ गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको चर्चित घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले ५ वर्षदेखि लाग्दै आएको आरोपबाट समेत आफूलाई मुक्त पारेको छ ।
पाँच वर्षदेखि उनकै नामबाट चन्दा असुल्ने गरिएको थियो । बिस्फोटक पदार्थ पड्काउने गरिएको थियो । उनको समूहका केही व्यक्ति पक्राउ परेका थिए तर उनी बाहिर बसेर त्यही धन्दा गरिरहेका थिए । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने भन्दै युवाहरूलाई आफ्नो समूहमा सक्रिय बनाएका थिए । प्रहरीको निशानामा पाँच वर्षदेखि परिरहेका मैनाली अन्ततः कात्तिक ९ गते साँझ पक्राउ परेका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उनीविरुद्ध २०७७ सालमा दर्ता भएको मुद्दा विचाराधीन छ । २०८१ सालमा बोधिचित्तको रूख फडानी गरेको अभियोग पनि छ ।
विभिन्न स्थानमा बम पड्काएको अभियोग छ । २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ वर्षीय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दाना बिर्खबहादुर तामाङसमेत ९ जनाको समूहले लुटेको अभियोगमा डाँकासम्बन्धी मुद्दा दर्ता गरेका थिए । उसै त मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दानासम्वन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानासम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सजायँ निर्धारणका लागि पेश गर्न आदेश दिएका थिए । २०८१ वैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरूको सजाँय निर्धारण गरेको छ । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुरलगायत अहिले लुटपाटमा संलग्नहरु पक्राउ परेका छन् । चोरको खुट्टा काट् भन्दा उचालेजस्तै मानबहादुर आफैले डाँका मुद्दा दर्ता गरेका थिए । सोही अभियोगमा चार वर्षपछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका थिए ।
डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजानामा एकीकृत कसुरबापत कालु भन्ने राजकुमार तामाङ, काले भन्ने राधाकृष्ण मैनाली, विजय हुमागाईं र बिर्खबहादुर लामालाई जम्मा ९ वर्ष कैद र ९० हजार रूपैयाँ जरिवाना गरिएको छ । प्रतिवादी किरण तामाङलाई जम्मा ७ वर्ष ३ महिना कैद र ७२ हजार ५ सय रूपैयाँ तोकिएको छ । दोश्रो पटक लुटपाटमा संलग्न मानबहादुरलाई जिल्लाले पुर्पक्षका लागि कारागार पठाए पनि उच्चले धरौटीमा छाड्ने आदेश दिएको थियो । दर्ता गरेको मुद्दाको फैसला नहुँदै मानबहादुरसहित ८ जनाको समूहले रूख नै काटिदिएको अभियोग छ ।
डाँका चोरी गरी लगेको बिक्री सम्झौतामा उल्लेख भएअनुसारको बुद्ध चित्तको दानाको मूल्य गाउँपालिकालाई बुझाउनु पर्ने करसहितको ९० लाख, सिसिटिभी क्यामेराको ९६ हजार १ सय, घाइतेहरूको उपचारबापतको २४ हजार २ सय ४९ रूपैयाँ दामासाहीले भराई दिने अदालतले ठहर गरेको छ । साथै कुरुवा व्यक्तिहरूको १ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको मोबाइलबापतको क्षतिपूर्ति भने दाबी नपुग्ने ठहर भएको छ । घटनामा संलग्न अन्यलाई पक्राउ पुर्जी जारीको आदेश त्यतिबेला नै भए पनि प्रहरीले बाँकीलाई पक्राउ गर्न सकेको थिएन । त्यही समूहले सिन्धुलीमा एनसेल टावर तथा विभिन्न स्थानमा थप क्षति पुर्याउँदै आएको थियो ।
– मोतीराम तिमल्सिना
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू