धनाढ्यलक्षित ‘हनिट्रयाप’ मौलाउँदै
‘हनिट्रयाप’ अर्थात् मोहजाल विशेषगरी सुन्दर युवतीमार्फत् पुरुषहरुलाई फसाउने गतिलो माध्यम बनेको । महिला गिरोहको प्रयोगबाट प्रेम जालमा पारेर रकम असुली गर्ने माध्यम नै हनिट्रयाप हो । यसमा विशेषगरी धनाढ्य पुरुषलाई मायामा फसाएर रकम असुलिन्छ ।
नेपालमा केही वर्षयता यस्ता कार्यमा महिला–पुरुष दुवैको संलग्नता बढ्दै गएको छ । हनिट्रयापमा पारेर रकम असुलीदेखि हत्यासम्म गरिएका घटना बाहिर आइसकेका छन् । यसको पछिल्लो उदाहरण पाँचखालको घटना बनेको छ ।
दुई महिनाअघि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ८, स्थित ४९ किलोमा एक पुरुष मृत भेटिए । प्रहरी अनुसन्धानको क्रममा उक्त शव काठमाडौंको कीर्तिपुर नगरपालिका–५, बस्दै आएका ५० वर्षीय विनोद खड्गीको भएको खुल्यो ।
उनको अपहरणपछि हत्या गरेर शव फ्यालिएको पछि पुष्टि भएको हो । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सिन्धुपाल्चोककी २१ वर्षीया मनिषा महत, शंखरापुर बस्ने २२ वर्षीय सरिन घिमिरे र रिकेश पौडेल, महोत्तरीका २० वर्षीय आशिष पासवान र बागलुङका १९ वर्षीय प्रतीक गौतम उक्त काण्डमा समातिएका हुन् ।
मासु पसल सञ्चालन गर्दै आएका विनोद र मनिषाबीच केही समयअघि चिनजान भएको थियो । उनी भक्तपुरको राधेराधेस्थित मनिषा बस्दै आएको फ्ल्याटमा पुगिरहन्थे । उनीहरु दुवैबीच मायाप्रेमको सम्बन्ध पनि गाँसिएको तथ्य खुल्यो ।
त्यसबीच मनिषा भारत पुगिन् । त्यहाँ दुई भारतीय नागरिकसँग मिलेर एकजनालाई हनिट्रयापमा पार्दै कुटपिटपश्चात् डेढ लाख रुपैयाँ लिएर उनी नेपाल फर्किन् । त्यसपछि मनिषासहितले नेपालमा पनि धनी व्यक्तिलाई हनिट्रयापमा पार्ने र रकम लुट्ने योजना बनाएका थिए ।
जसको शिकार विनोद बनेका हुन् । प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेश असोज ४ गते साँझ मनिषाको कोठामा भेला भए । त्यहाँ उनीहरुले योजना बनाए । र, सोहीअनुरुप मनिषाले भोलिपल्ट बिहान विनोदलाई नागरिकता बनाउन सिन्धुपाल्चोकसम्म पुर्याइदिन भन्दै बोलाइन् ।
बिहान साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाएका थिए । अनि खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएर कोठामा पुग्नासाथ विनोदमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुले घाइते विनोदको हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ शुर गरे । शुरुमा ३० लाख रुपैयाँ मागिएकोमा पछि पाँच लाखमा सहमति भयो । विनोदले आफ्नो बधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर पाँच लाख रुपैयाँ ल्याउन अह्राए ।
सोहीअनुरुप प्रदीपले राधेराधेमा पैसा पुर्याइदिए । तर, रकम पाइसकेपछि विनोद प्रहरीकोमा पुग्ने डरले उनीहरुले हत्याको योजना बनाएको पाइयो । जसअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर गुण्डु पुर्याएपछि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
हत्यापछि शव साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो मा पुर्याएर अरनिको राजमार्गबाट तल झाडीमा फालेर उनीहरु भक्तपुर फर्किएका थिए । साथै, भोलिपल्ट भेटेर सबै जनाले पैसा बाँडेको खुल्न आएको छ ।
यसअघि गत असारमा हनिट्रयापमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको थियो । काठमाडौं बौद्ध बस्ने २० वर्षीया सिर्जना तामाङ र मूलपानीका २९ वर्षीय लीलाबहादुर तामाङ प्रहरी नियन्त्रणमा थिए ।
उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाई प्रत्यक्ष रुपमा भेटघाट गरेर अश्लिल भिडियो बनाई पीडितलाई पठाउनुका साथै पैसाको मोलमोलाई गरी रकम असुल्ने गरेको प्रहरीको आरोप छ ।
लीलाले पीडितको फेसबुक आईडी सिर्जनालाई पठाएर साथी बन्न लगाएका थिए । त्यसपछि सिर्जनाले पीडितसँग कुरा गरेर आफ्नो कोठामा बोलाई पीडितसँग अश्लिल भिडियो बनाइन् । उक्त भिडियो देखाउँदै उनीहरुले पीडितसँग एक करोडको बार्गेनिङ गरेर १५ लाखमा कुरा मिलाएका थिए ।
यता, हनिट्यापमा पारेर दाङमा एक व्यापारीसँग पाँच करोड रुपैयाँ मागियो । तुलसीपुर बस्दै आएकी कृष्णकुमारी गहतरासहित तीन जनाले स्थानीय एक व्यापारीलाई ब्ल्याकमेल गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएका थिए ।
उक्त घटना केही वर्षअघिको हो । गहतरा जिल्ला अदालत दाङको आदेशबमोजिम कारागार चलान भइसकेकी छन् । सोही बेला दाङकै घोराहीमा यस्तै प्रकृतिको अर्को घटना पनि भयो । पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बार्गेनिङ गरेको आरोपमा तीन जना महिला समातिएका थिए ।
प्रहरीका अनुसार घटनाको क्रममा उनीहरुले घरायसी मुद्दामा कानूनी सल्लाह चाहियो भन्दै दुई पुरुषलाई रेस्टुरेन्टमा बोलाए । त्यसपछि आफैंले बियर खुवाउएपछि आफूहरुको इज्जतमाथि हात हालेको भन्दै ५० लाख रुपैयाँ नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिए ।
यी घटनाक्रमले हनिट्रयापको धन्दा मौलाउँदै गएको प्रष्ट हुन्छ । उल्लिखित घटनाहरु प्रहरीसमक्ष पुगेकामध्यका मात्रै हुन् । यसबाहेक धेरै घटना प्रहरीसम्म नपुगी रकम लेनदेनमा मिलाउने गरेको पनि पाइएको छ । अर्कोतर्फ, पछिल्लो समय प्रहरी अधिकारीहरुकै यस्ता कार्यमा संलग्नता भेटिन थालेको छ ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा इन्स्पेक्टरकै मिलेमतोमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेर ३० लाख रुपैयाँ असुलेको पाइएको छ । उक्त कार्यमा संलग्न चार जना पक्राउ परिसक्दा इन्स्पेक्टर बिनुकुमारी शाही अझै फरार छिन् । उनलाई कारबाही सिफारिस भइसकेको छ ।
प्रहरी हेडक्वार्टरको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा हनिट्रयापमा संलग्न ५३ जना पक्राउ परेका छन् । तीमध्ये २८ जना पुरुष र २५ जना महिला हुन् । त्यस्तै, हनिट्रयापसँग सम्बन्धित २४ वटा मुद्दा अदालत पुगेको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा हनिट्रयापको आरोपमा १९ जना समातिएका थिए ।
आर्थिक वर्ष ०७९–०८० मा १७ जना, ०७८–०७९ मा दुई जना, ०७७–०७८ मा ११ जना र ०७५–०७६ मा चार जना हनिट्रयापमा संलग्न रहेको अभियोगमा पक्राउ परेको प्रहरीको भनाइ छ । केन्द्रीय प्रहरी प्रवक्ता नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्की हनिट्रयापका घटना बढे पनि प्रहरीसमक्ष निकै कम पुग्ने गरेको बताउँछन् ।
आफ्नो बदनाम हुने वा ज्यान जोखिममा पर्ने खतरामा पीडितहरु प्रहरीसम्म नपुग्ने उनको बुझाई छ । जसअनुसार यस्ता अपराधमा संलग्न व्यक्तिहरुले विशेष गरी धनाढ्य व्यक्ति तथा व्यापारीलाई टार्गेट गर्ने गरेका छन् । शुरुमा मायाजालमा पार्ने र पछि विभिन्न मुद्दा लगाइदिने भन्दै रकम असुल्ने गरिन्छ ।
‘सुन्दर युवती, महिलाको प्रयोग गरिन्छ । त्यसपछि धनी व्यक्तिलाई मायाजालमा पारिन्छ अनि विभिन्न मुद्दा हालिदिने भन्दै बारम्बार धम्क्याएर रकम असुलिन्छ,’ प्रवक्ता कार्कीले भने । यस्ता कार्यमा गिरोह नै सक्रिय हुने गरेको उनको भनाइ छ । योजनाबद्ध रुपमा यस्ता अपराध गर्ने गरिएको भन्दै उनले प्रहरीसम्म पुग्ने यस्ता घटनामा अनुसन्धान गरी पीडितलाई न्याय दिलाएको पनि बताए ।
टिप्पणीहरू