एनपीएलको ‘पावर्ड वाई’ मा एनसेल, ‘हामी तपाईंकै लागि’ थिम
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेन ‘पावर्ड वाई’ मा अनुबन्ध भएको छ । एनपीएलमा प्रायोजन गर्ने सम्बन्धमा एनसेल र क्यानबीच भएको साझेदारीमा उक्त अनुबन्ध गरिएको छ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित एनपीएलमा एनसेल ‘पावर्ड वाई’ साझेदारको रुपमा आबद्ध भएको हो । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
एनसेलका प्रबन्ध निर्देशक कायुमोभले नेपाल प्रिमियर लिगका लागि क्यानसँग साझेदारी गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीलाई उत्कृष्ट अनुभवसहित आफ्नो अपार प्रतिभा प्रदर्शनका लागि अवसर दिने उनको भनाइ छ ।
‘क्रिकेट र खेलकुदप्रति हाम्रो प्रतिबद्धता प्रशंसनीय छ । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाईमा पुग्ने अपेक्षा गछौँ । यो सहकार्यले वृद्धि विकास, नवप्रवर्तन र उत्कृष्टताप्रतिको आपसी समर्पणको भावना झल्काउँछ । नेपालको क्रिकेट यात्रामा एक महत्वपूर्ण उपलब्धि हो,’ कायुमोभले भने ।
उक्त सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको पनि जनाइएको छ । एनपीएल यही मंसिर १५ गतेदेखि शुरु हुँदैछ । आठ टिम सहभागी हुने यो प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्ट्रिमिङमार्फत एनपीएलका खेलहरु जुनसुकै ठाउँबाट पनि हेर्न सक्ने सुविधा प्रदान गर्ने जनाएको छ । योसँगै खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै प्रतियोगिताभरी ग्राहकका लागि विभिन्न योजना ल्याउने बताइएको छ ।
टिप्पणीहरू