सिआइबी प्रवक्ताको सट्याकसुटुक
‘विवादित एआइजी अवकाश पाएर घर गए, आफ्नो अवशेष भने यतै छोडे ।’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) भित्र चलेको गाइँगुइँ हो यो । सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवाली र प्रवक्ता एसपी होविन्द्र बोगटीको सम्बन्धलाई लिएर संगठनभित्र विभिन्न टिप्पणी भइरहेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा सिआइबीमा ल्याइएका ज्ञवाली गत भदौमा घर गएका छन् । लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरण, ६० किलोग्राम सुनकाण्डको ढाकछोपलगायत विभिन्न आरोपमा मुछिएका ज्ञवालीको निकट पात्रका रुपमा चिनिन्छन्, बोगटी ।
प्रहरी संगठनभित्र ज्ञवालीका अनियमित कार्यको विरोध भइरहँदा बोगटीले भने उनको समर्थनमा गुणगान गाइरहेका थिए । ‘एआइजी घर गएर के गर्ने ? बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा उनले मज्जैसँग चलखेल गरेको देखिएको स्रोतको दाबी छ ।
उनले ‘केस मिलाइदिन्छु’ भनी मारवाडीहरूलाई छुट्टाछुट्टै फोन गरेर भेटेको पनि पाइएको छ । यता, राजधानीको नक्सालस्थित भारतीय लगानीमा खुलेको राई स्कूलका प्रिन्सिपल कीर्ति पाण्डेलाई थर्काएर पैसा बुझेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले पाण्डेलाई दिनुसम्म मानसिक ‘टर्चर’ दिएका थिए । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका कर्मचारीलाई पक्राउ गर्दा पनि उनले चलखेल गरेको आरोप छ । बैकिङ कसूरको आरोपमा लेनदेनको हिसाबले थुन्ने कि छोड्ने भन्ने तय भएको थियो । ‘उनले पहिले फकाउँछन्, त्यसपछि तर्साउँछन् । बार्गेनिङ गर्नमा माहिर छन् ।
बालमन्दिरको केशमा मारवाडीलाई भेटेको देखिएको छ’, स्रोत भन्छ, ‘केश मिलाइदिन्छु भनेर बार्गेनिङ गरेकोसम्म सूचना छ । सेञ्चुरी बैंकको हकमा कसलाई थुन्ने ? कसलाई छोड्ने पनि उनले नै तय गरेका थिए ।’
सिआइबीले मुद्दा चलाउनुपहिले आइजिपीलाई सोध्नुपर्ने हुन्छ । तर, उनले मनोमानी ढंगले मुद्दा चलाउँदै आएका छन् । जघन्य अपराधमा विशेष अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने सिआइबीले निर्दोष व्यक्तिविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको पाइएको छ । जबकि सिआइबीले अभद्र व्यवहारको मुद्दा चलाउने होइन । आफू फस्ने डरले बोगटीले ती व्यक्तिमाथि मुद्दा चलाएका हुन् । क्रिप्टो कारोबारीसँग ठूलो रकम चलखेल गरेका बोगटीको कर्तुत ती व्यक्तिले थाहा पाए ।
आफ्नो पोल खोलिदिने त्रास भएपछि उनले ती व्यक्तिलाई समातेर, धम्क्याएर, तर्साएर, दुःख दिएर मुख थुन्दै आएका थिए । हाल उनीविरुद्ध मुद्दा नै चलेको छ ।
– गोपीनाथ काफ्ले
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू