सुटबुटमा सजिएकाहरुको कर्तुतबाट सर्वसाधारण आजित
मोरङमा नक्कली सुनका गरगहना देखाएर ठगी गर्दै आएको गिरोहलाई प्रहरीले समातेको छ । लामो समयदेखि नक्कली सुनका गरगहनालाई सक्कली भनी झुक्याएर बेच्दै आएका दुई भारतीय र चार नेपालीसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९, बस्ने ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३, बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वासहित भारत घर भएका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरिएको छ ।
मोरङका एसपी नारायणप्रसाद चिमोरियाका अनुसार उक्त गिरोहले नक्कली सुन देखाई जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई आफन्त बनाएई सक्कली सुनका गरगहना बताउँदै बिक्री गरेर ठग्दै आएका थिए ।
विशेष गरी प्रौढ र वृद्धवृद्धासँग नजिकिएर उनीहरुले लगाएको गहना र पैसा चोरी गर्नुका साथै नक्कली सुनका गहना देखाएर नगद समेत मागी फरार हुने गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनीहरुले कान, नाक र गलामा लगाउने नक्कली सुनका गहनासँगै तिलहरी र मंगलसूत्र बिक्री गर्थे ।
सर्वसाधारणसँग नजिक भएर आफन्त साइनो लगाउँदै गहना बिक्रीपछि फरार हुने गरेका उनीहरुले शहरैपिच्छे आफ्नो परिचय फेर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बिरामीका आफन्त ठगेपछि गिरोहको पहिचान
प्रहरीका अनुसार उक्त गिरोहले मोरङको बुढीगंगा २, मा रहेको विराट टिचिङ अस्पतालमा श्रीमतीको उपचारका लागि आएका संखुवासभाका कृष्णबहादुर तामाङको एक लाख १० हजार नगद आफन्त बनेर गत कात्तिक २७ गते चोरेको थियो।
त्यसपछि मोरङ प्रहरीले सीसीटिभी फुटेजका आधारमा पहिले सुनसरीको ईटहरीमा रहेका गिरोहका सदस्य अशोक तामाङलाई पक्राउ गर्यो । उनकै बयानका अधारमा अन्य सदस्यहरुलाई पनि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका छ जनालाई ठगीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । उनीहरुलाई मुलुकी अपराध संहिताअनुसार उक्त कसुरमा सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
टिप्पणीहरू