जनकपुरको अपराजित यात्रामा ब्रेक लाग्दा सुदूरपश्चिम शीर्षमा
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स सूदुरपश्चिम रोयल्ससँग पराजित भएको छ । लगातार चार खेल जितेको जनकपुरले आज भएको पाँचौं खेलमा पहिलो हार व्यहोरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रनमा समेटियो । जारी एनपीएलमा यो सबैभन्दा कम स्कोर हो ।
जनकपुरलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हरमित सिंह, ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमानको नाममा एक-एक विकेट रह्यो ।
जोसुवा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसो त सुदूरपश्चिमको पनि ब्याटिङ निराशाजनक थियो । पहिलो विकेटका लागि ओपनर सैफ जैव र विनोद भण्डारीले ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । तर, मध्य र तल्लो क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा १२४ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो ।
जनकपुरका लागि किशोर महतो एक्लैले ४ विकेट लिएका थिए ।
तर, लक्ष्य जोगाउने क्रममा उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई ५१ रनमा अलआउट गरेको हो । ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लाग्दा सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
टिप्पणीहरू