खड्का ल्याण्डको कारोबारमा आफू नजोडिने मन्त्री खड्काको दावी

खड्का ल्याण्डको कारोबारमा आफू नजोडिने मन्त्री खड्काको दावी

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गा भाडा सम्बन्धी विवाद कानूनी हिसावले आफूसँग नजोडिने दावी गरेका छन् ।   

खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्टले स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर व्यापार गर्दै आएको थियो । तर, लामो समयदेखि भाडा नतिरेको भन्दै यो विषय यतिबेला चर्को विवादमा छ । खड्काले भने उक्त कम्पनीमा आफ्नो संलग्नता नै नरहेको दावी गरे । 

आफू मन्त्री भएको सहन नसकेका केही व्यक्तिले स्काउटसँग जोडर नियोजितरुपमा समाचार लेखाएको खड्काको आरो छ । ‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो', उनले भने, 'केही गर्न खोज्दा मान्छेहरुलाई भुडिपोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरु आएका हुन् ।'

मन्त्री खड्काले स्काउट ऋणमा पुगेपछि आफूले उद्धार गरिदिएको जिकिरसमेत गरेका छन् । टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको तर, आफू कम्पनीमा हुँदासम्म विवाद नभएको उनले दावी गरे । 

४ करोड उठ्न र ३ करोड तिर्न बाँकी रहेको बताउँदै उनले भाडा तिर्न नसक्नुमा स्काउटलाई नै मुख्य जिम्मेवार ठहर्याए । स्काउटले बत्तिको लाइन काट्ने, गेटमा ताल्चा लगाउने गरेका कारण समस्या निम्तिएको उनको भनाई छ । 

'स्काउटले विद्युत लाइन काट्ने,गेटमा चाबी लगाउने लगायतका काम निरन्तर भइरहेका थिए । संसदमा पनि यो विषयले प्रवेश पाएको हो । कोभिडको कारणले सटर भाडा तिर्न नसकेको कारण भाडा बुझाउन नसकेको हो', खड्काले भने, '४ करोड रुपैयाँ उठ्न र ३ करोड तिर्न बाँकी रहेको थियो । महिनाको २५ लाख रुपैयाँ भाडा भएपछि दुई वर्षमा ३ करोड पुग्नु ठूलो कुरा भएन । एक महिनाको भाडा तिर्दा तीन महिनाको भाडा तिर्न सक्दैनन् । सामान्य भाडा लिने र दिनेको कुरा राष्ट्रिय पत्रिकाहरुमा आउनुको पछाडि केही छ । मसँग कानूनी हिसावमा जोडिँदैन ।’

टिप्पणीहरू