चौरासीपछि चाहिँ के त ?

मुलुककै दोस्रो ठूलो संसदीय दल तथा वामपन्थीमध्ये सबैभन्दा ठूलो पार्टी एमालेले अल्पकालीन राजनीतिक कार्यक्रममार्फत् जनतामाझ आफूलाई स्थापित गर्न खोजेको छ ।
२०८४ सालको संसदीय निर्वाचनमा बहुमत ल्याएर सत्ता कब्जा गर्ने उसको एकमात्र अर्जुन दृष्टि देखिन्छ । तर २०८४ पछि के गर्ने भन्ने योजना देखिन्न । यसै अन्तर्गत जरा अभियानका नाममा सदस्यता नवीकरण र विस्तार, टोल कमिटी गठन र एक तिहाइ युवा समेट्ने प्रयास, २०८४ मा एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिनेजस्ता कार्यक्रम अघि सारिएको छ ।
आफ्नो दल छोडेर अन्त जाउन् मतलव छैन, भएकालाई पनि सकेसम्म गलहत्याउने, नभए चुपचाप बस्न बाध्य पार्दै गएको अवस्था छ । एकाघरका श्रीमान्/श्रीमतीबीच त कहिलेकाहीँ मन फाट्छ, कुरा मिल्दैन र पारपाचुके लिने निर्णयमा पुग्छन् भने विचार नमिल्दा पार्टी फुट्ने त हिजोदेखिकैं चलन हो ।
२०५४ सालमा पार्टी विभाजन भयो, केही वर्षअघि नेकपा पार्टी फुटेर नेकपा (एमाले), नेकपा (माओवादीकेन्द्र) र नेकपा (एकीकृत समाजवादी) बने । बाहिरकालाई हुल्ने तर भित्रै रहेकाहरूलाई भने सकेसम्म टिक्न नदिने अभ्यास चलिरहेको छ ।
यसबाट अल्पकालीन समयका निम्ति एमालेलाई फाइदा पुगे पनि दीर्घकालीन रुपमा निकै ठूलो क्षति हुनसक्ने राजनीतिक शास्त्रीहरूको राय छ । सिद्धान्त र विचारले लैस कार्यकर्ता भीड वा अन्धभक्तभन्दा सयौं गुणा प्रभावशाली र शक्तिशाली हुने गर्छन् । सत्ता र शक्तिकेन्द्रित गतिविधिमा मात्रै केन्द्रीत हुने नीति प्रत्युत्पादक र घातक सावित हुने देखिन्छ ।
टिप्पणीहरू