मन्त्रीलाई हिरो बन्ने रहर,जनतालाई धुलो खाने कहर

मन्त्रीलाई हिरो बन्ने रहर,जनतालाई धुलो खाने कहर

मान्छेका रहर पनि अनेक । मन्त्रीलाई हिरो बन्ने रहर पलाएपछि स-साना बालबालिकालाई धुलो खानुपर्ने बाध्यता आइलागेको छ । कर्णाली प्रदेशका अर्बपति अर्थमन्त्री राजिवविक्रम शाहको प्रसंग हो,यो । 

हिजो जाजरकोटको छेडागाड नगरपालिका-३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पाँचौ मेयर कपको उद्घाटन समारोह थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाइएका मन्त्री शाहलाई स्वागत गर्न विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरु पर्खेर बसेका थिए । बिहान करिब ११ बजेतिर मन्त्री शाह चढेको हेलिकोप्टर विद्यालयमाथिको आकाशमा देखियो । तर,जब हेलिकोप्टर विद्यालयकै कच्ची आँगनमा अवतरण गर्न खोज्यो,तब मन्त्रीलाई स्वागत गर्न चिटिक्क भएर बसेका सयौँ विद्यार्थी धुलोमा रनभुल्ल परे । 

त्यसो त,हेलिकोप्टरलाई विद्यालय नजिकै रहेको एक खाली जग्गामा अवतरण गर्न सुझाइएको विद्यालयका एक शिक्षक बताउँछन् । तर,मन्त्री शाहले हेलिकोप्टरका पाइलटलाई नै विद्यालयको आँगनमा अवतरण गर्न निर्देशन दिएको बताइन्छ । 

ती शिक्षक भन्छन्,‘हामीले यहाँ नजिकै रहेको एक खाली ठाउँमा ल्याण्ड गर्न भनेका थियौँ,तर मन्त्रीज्यूलाई हिरो शैलीमा ओर्लिने मन हुँदो हो,धुलो उडाउँदै आँगनमै उत्रिनुभयो ।’ मन्त्री शाह ओर्लिदा हेलिकोप्टरले उडाएको धुलोले विद्यार्थीहरुको अनुहार लपक्कै छोपिएको ती शिक्षकको भनाई छ । 

कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री शाह पेशाले व्यवसायी हुन् । उनी टीआर रियल स्टेट एण्ड लिजिङ प्रालि, हिमालय एडभेन्चर, बिल्डरनेस माउन्टेन, सिंह होल्डिङ्ग इन्भेटमेन्टस प्रालिलगायत आधा दर्जन कम्पनीका मालिक हुन् भने विभिन्न २६ कम्पनीमा शेयर छ । मुख्यमन्त्री कार्यालयको वेवसाइटमा राखिएको  मन्त्रीहरुको सम्पति विवरणअनुसार उनीसँग ९४५ तोला सुन, १० हजार १६१ तोला चाँदी, आठ करोड बराबरको हिरा र  एक करोड ५० लाख बराबरको विभिन्न ब्राण्डका घडी पनि छ ।

त्यस्तै, काठमाडौँ, नुवाकोट, काभ्रेलगायतका ११ ठाउँमा करोडौँको जग्गा जोडेका उनीसँग एक करोड ५० लाख मूल्यको टोयोटा टीएक्स कार, दुई करोड ६३ लाख पर्ने जिप रुविकन, ६१ लाख ७५ हजारको महिन्द्रा एसयुभी जिप, ५ लाखको मोटरसाइकल, ३७ लाखको महिन्द्रा थार कारसमेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

टिप्पणीहरू